महन्थलाई प्रधानमन्त्री बन्न प्रस्ताव, महन्थ बन्लान् त प्रधानमन्त्री



काठमाडाैं, २९ फागुन । नेकपा एमाले र माओवादी केन्द्र मिलेर गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सर्वोच्च अदालतको फागुन २३ गतेको आदेशले विघटन भएको छ । नेकपाभित्र आन्तरिक विवाद तीव्र बनेका बेला सर्वोच्चले नाममा रहेको विवाद अन्त्य गरेसँगै पुरानै दुई दल एमाले र माओवादी केन्द्र सक्रिय भएका छन् । त्यससँगै बढ्दै गएको सत्ता संकटमा जनता समाजवादी पार्टी केन्द्रमा आइपुगेको छ ।

पार्टीभित्रको विवादले अर्को रुप नलिएसम्म एमाले नेतृत्वको वर्तमान सरकारलाई टिकाइराख्न जनता समाजवादीको समर्थन भए पुग्छ । तर जनता समाजवादी पार्टीभित्रै केपी ओली नेतृत्वको सरकारलाई समर्थन गर्ने विषयमा मतभेद छ । अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो ओली नेतृत्वको सरकारप्रति नरम देखिए पनि उपेन्द्र यादव र बाबुराम भट्टराई वर्तमान सरकारको विकल्प खोज्नुपर्ने पक्षमा देखिएका छन् । सत्तारुढ एमालेभित्रको माधवकुमार नेपाल, झलनाथ खनालसहितको असन्तुष्ट समूह मात्र होइन, सत्तासाझेदार माओवादी केन्द्र पनि ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले ओली नेतृत्वको सरकारले मुलुकको शासन सञ्चालन गर्ने नैतिक आधार गुमाएको भन्दै एक वर्षअघि नै विकल्प खोज्नुपर्ने निर्णय गरेको थियो । तर एमाले र माओवादी केन्द्रबीचको एकीकरणले झन्डै दुई तिहाइ बहुमत नजिक रहेका ओलीविरुद्ध अविश्वास प्रस्ताव राख्ने हैसियत पनि कांग्रेसको थिएन । अहिले दुई दल विभाजनसँगै विकास भएको नयाँ घटनाक्रममा कांग्रेस फेरि एकपटक सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको छ । तर अहिले नयाँ सत्ता समीकरणको केन्द्रमा रहेको जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नाम पनि नयाँ प्रधानमन्त्रीका रुपमा चर्चामा छ ।

आफू नेतृत्वको सरकारले निरन्तरता नपाउने अवस्थामा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले महन्थलाई प्रधानमन्त्रीका रुपमा अघि सार्नसक्ने एमाले वृत्तको विश्लेषण छ । जसपाकै नेतृत्वमा सरकार गठनका लागि एमालेले प्रस्ताव गरेको अवस्थामा पार्टीका अन्य नेतालाई कांग्रेस वा माओवादी नेतृत्वमा सरकार गठनको प्रस्ताव गर्न नैतिक संकट पर्नेछ । माओवादी नेतृत्वमा अहिले नयाँ सरकार गठनको सम्भावना निकै कम छ । ओलीको विकल्पमा माओवादी केन्द्रले कांग्रेस वा जसपामध्ये कुनै एकको नेतृत्व स्वीकार गरेर अघि बढ्ने नेताहरूको बुझाइ छ ।

त्यस्तो अवस्थामा प्रधानमन्त्रीका लागि कांग्रेस सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष ठाकुर मुख्य दाबेदार हुन् । पार्टीको १४औं महाधिवेशन संघारमै आइपुगेकाले देउवा मुलुकको कार्यकारी प्रमुख हुँदा त्यसको असर महाधिवेशनबाट नयाँ नेतृत्व चयनमा पनि पर्ने कांग्रेस नेताहरूको बुझाइ छ । प्रधानमन्त्रीसहित पार्टी सभापतिका लागि देउवा अघि बढ्दा उनलाई रोक्न सहज नहुने संस्थापन इतर पक्षको बुझाइ छ । त्यस्तो अवस्थामा देउवालाई प्रधानमन्त्रीमा रोक्न मधेसबाट लामो समयदेखि राजनीति गर्दै आएका पार्टीकै पूर्वनेता ठाकुरलाई प्रधानमन्त्रीका रुपमा स्वीकार गर्न कांग्रेसलाई धेरै कठिन नहुने नेताहरूको बुझाइ छ । ‘कांग्रेसकै पहलमा मधेसी मूलको नेतालाई प्रधानमन्त्री बनाउने यो एउटा अवसर पनि हो,’ कांग्रेसका एक नेताले भने, ‘महन्थजी हाम्रो पार्टीको पुरानो नेता र असल मित्र पनि हुनुहुन्छ ।’

शुक्रबार साँझ नै सभापति देउवाको निवास बुढानीलकण्ठमा कांग्रेस र जसपाका नेताहरूबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो । भेटमा जनता समाजवादी पार्टीका महन्थ ठाकुर, बाबुराम भट्टराई, उपेन्द्र यादवसहितका नेताले प्रधानमन्त्री ओलीको असंवैधानिक र अलोकतान्त्रिक कदमविरुद्ध नेपाली कांग्रेससहितका दलहरू सँगै लडेको बताउँदै आगामी दिनमा पनि मिलेर अघि बढ्नुपर्ने प्रस्ताव गरेका थिए ।

उनीहरूले प्रमुख प्रतिपक्षी दलको हैसियतमा नयाँ सरकार गठनसहित मुलुकमा देखापरेका समस्या समाधानका लागि अग्रसरता लिन कांग्रेसलाई आग्रह गरेका छन् । ओली अहिले पनि सत्ता कब्जाको बाटोमा रहेको भन्दै जसपाका नेताहरूले नयाँ सत्ता समीकरणको नेतृत्व लिन कांग्रेसलाई आग्रह गरेका हुन् । तर त्यसमा नेता राजेन्द्र महतोले असन्तुष्टिसहित व्यंग्य गरेको सहभागी एक नेताले जानकारी दिए । ‘मधेसवादी दल (हामी) समर्थन गर्न जन्मेका हौं, सरकार बनाउने तपाईंहरूले नै, कांग्रेस अघि बढोस्,’ महतोलाई उद्धृत गर्दै भेटमा सहभागी एक नेताले भने, ‘उहाँको समर्थनजस्तो पनि असन्तुष्टिजस्तो पनि, दुवै थियो ।’

जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले भने आफ्नो नेतृत्वमा सरकार बनाउने विषयमा छलफल नभएको बताएका छन् । कांग्रेससँगको छलफलपछि ठाकुरले पत्रकारसँग भने, ‘तपाईंहरूको मुखबाट सुनेको छु, मलाई त यस्तो कुरा कसैले राखेको छैन । यस्तो राम्रो खबर, त्यसका लागि तपाईहरूलाई धन्यवाद छ ।’

जनता समाजवादी पार्टीका अन्य नेताले भने आफ्नो दलले अरुलाई मात्र सहयोग गर्छ भन्ने धारणा गलत भएको जनाउँदै सरकारको नेतृत्वका लागि अग्रसरता लिने बताउँदै आएका छन् । ‘नेपालमा सोच नै के भयो भने हामी खाली अरुको समर्थन गर्न मात्रै हो । कसलाई समर्थन गर्दै हुनुहुन्छ भन्ने प्रश्न उठाइन्छ’, बैठकपछि नेता राजकिशोर यादवले भने, ‘यसलाई हामीले चिर्ने र ऐतिहासिक कार्यभारको नेतृत्व जसपाले लिन तयार हुनुपर्छ ।’

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीसँग बिहीबार भेटेको जानकारी कांग्रेस नेताहरूलाई गराउँदै ठाकुरले रेशम चौधरीसहित थुनामा रहेका नेताहरूको रिहा, संविधान संशोधनसहितका विषयमा कांग्रेसको सहयोग र समर्थन आफूहरूले चाहेको धारणा राखेका थिए । उनले माओवादी केन्द्रसँग पनि शनिबार छलफल गर्ने जानकारी गराएका थिए । नागरिक दैनिकमा भुवन शर्माले समाचार लेखेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्