अस्थायी मुकाम तोकेपछि चुनौती थपियो : यादव



सैघाली खबर,
काठमाडौं ४ माघ, । निर्वाचन आयोगले अस्थायी मुकाम तोकिएपछि राष्ट्रियसभा निर्वाचनमा सुरक्षा चुनौती थपिएको उल्लेख गरेको छ ।

बिहीबार काठमाडौंमा आयोजित राष्ट्रियसभाको निर्वाचन सञ्चालन तथा व्यवस्थापन प्रशिक्षण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रदेशको अस्थायी मुकाम तोकिएसँगै राष्ट्रिय सभाको निर्वाचनमा सुरक्षा चुनौती थपिएको उल्लेख गर्दै त्यसलाई सहज बनाउन सरकार र राजनीतिक दलहरुको गम्भीर ध्यानाकर्षण गराए ।

 

प्रमुख आयुक्त यादवले निर्वाचनमा देखिएको सुरक्षा चुनौतीलाई हल गर्न स्थानीय राजनीतिक दलसँग बलियो सहकार्य गरेर अघि बढन पनि सम्बन्धित निर्वाचन अधिकृतहरुलाई सचेत गराए ।

आयोगले राष्ट्रिय सभाको निर्वाचनलाई उत्कृष्ट ढंगले व्यवस्थापन गर्न सबै निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ । प्रमुख आयुक्त यादवले राष्ट्रिय सभाको निर्वाचनलाई उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्न सम्बन्धित प्रदेशका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएका हुन् ।

आयोगले राष्ट्रिय सभाको निर्वाचनको मतगणनालाई सहज बनाउन प्रविधिको प्रयोग गर्ने तयारी पनि गरेको छ । मतगणना झन्झटिलो भएकाले यसलाई सहज बनाउन कम्प्युटरमा गणना गर्ने व्यवस्था मिलाउन लागिएको पनि प्रमुख निर्वाचन आयुक्त यादवले जानकारी दिए । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई निष्पक्ष ढंगले सम्पन्न गर्न सरकार र राजनीतिक दलहरुले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने विश्वास पनि व्यक्त गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्