पार्टीमा टुटफुट र विभाजन आइरहेका बेला जनयुद्धका संस्थापक नेता शर्माले गरे यस्तो अपील



अहिले सत्तासीन नेकपा फुटाएर सत्ताबाट, सरकारबाट र सदनबाट कम्युनिस्टहरुलाई हटाउन लागे । माओवादी पनि फुटिहाल्यो । हुँदाहुँदा धेरै अघिदेखि नफुटेर देशको सबैभन्दा ठूलो पार्टी बनेको एमाले पनि फुट्नै लाग्यो आदि–इत्यादि भनेर जनता–कार्यकर्ता अत्यन्त चिन्तित छन् । साथै, अब आउने चुनावमा त काङ्ग्रेस, जसपा, राप्रपाजस्ता प्रतिकृयावादी, दलाल र प्रतिगामी शक्तिहरुले जित्लान् र शोषण, दमन र अत्याचार चर्काउलान्, राजा ज्ञानेन्द्र र राजतन्त्र फर्काउलान् र देशै भारत र अमेरिकाको पोल्टामा पार्लान् भनेर पनि धेरै सन्ताप मानिरहेको अवस्था छ ।

यसैगरी, यस्तो अति भएपछी त कम्युनिस्टहरु पनि समाप्त हुन्छन्, क्रान्ति पनि हुँदैन र देशै पनि रहँदैन कि भनेर पनि धेरै शोकसन्तप्त भएको स्थिति समेत छ । साम्राज्यवादी, विस्तारवादी र प्रतिक्रियावादी शक्तिहरु र तिनका दलालहरु भने कम्युनिस्टहरु सिद्धिन लाहेको ठानेर हर्षोल्लास मनाइरहेका छन् । तर, सत्य के हो भने शोषण, दमन, अन्याय, अत्याचार र असमानता रहेसम्म कम्युनिस्ट सिद्धिने कुरा त प्रतिक्रियावादीहरुको मृगतृष्णा र आत्मरति मात्रै हो ।

सत्ता, सरकार, सदन र यिनको सेरोफेरोबाट हटाएपछी यी कम्युनिस्टहरु सिद्धिन्छन् भन्ने पनि होइन । बरु क्रान्तिकारीहरु त पुरानै प्रतिक्रियावादी सत्ता, सरकार र सदनमा गएपछी वा जाने सम्भावना भएपछी पो बिग्रिएर सकिन्छन् र सकिएका छन् । र यहाँ पनि अहिले यही भैरहेछ अर्थात् सिद्धिने प्रकृयामा छन् । यदी यी कम्युनिस्टहरु सच्चा कम्युनिस्ट नै हुन् भने र यिनीहरु सत्ताको सेरोफेरोमा भएनन् भने त यिनीहरु सडकमा र संघर्षमा जान बाध्य हुन्छन् अनि त यी खारिन्छन्, सुदृढ हुन्छन् र सबल हुन्छन् । तत्पश्चात बल्ल यिनले क्रान्ति गर्छन् र साम्राज्यवादी, विस्तारवादी र प्रतिकृयावादी लगायतका शक्तिहरुको लूटको स्वर्ग ध्वस्त पार्छन् ।

हो, एउटा कुरा के हो भने हाल सत्ताको रसास्वादन गरेकामध्ये केही अत्यन्त अवसरवादी, भ्रष्ट–दुष्ट र दलाल–गद्दारहरु भने क्रान्तिमा आउने छैनन् र त्यस्ता त रुपान्तरण हुन पनि सक्तैनन् । यदी शुद्धीकरण नभएरै क्रान्तिमा आएभने त तिनले फेरि पार्टी र क्रान्तिलाई प्रदूषित र भ्रष्टिकृत गर्दछन् । त्यसैले तिनिहरु क्रान्तिमा नआएकै राम्रो । तथापि अत्यधिक ठूलो संख्या भने शुद्धीकरण र रुपान्तरण भएर क्रान्तिमै आउनेछ । क्रान्तिको बाटो नै बाङ्गोटिङ्गो, उतारचढावपूर्ण र दुसाध्य हुन्छ र छ नै । त्यसैले सकेसम्म कोही पनि यो अप्ठेरो बाटोमा सहजै आउन्नन् तर जब बाध्यता आइलाग्छ तब अत्यधिक मानिसहरु जस्तोसुकै खतरा मोलेर समस्याबाट मुक्त हुन चाहन्छन् ।

त्यसैले ढुक्क होऔं नेकपा लगायतका कम्युनिस्टहरु अहिले विचलित, विभाजित र विघटित भएर विसर्जित हुन्छन् कि भनेर रत्तिभर नडराऔं । आज यी कम्युनिस्ट भनिएकाहरु फुटेका क्रान्तिकारी नभएकाले, देशभक्त नरहेकाले र जनवादी न बनेकाले अर्थात् लोभी–पापी, स्वार्थी, सन्की, भ्रष्ट–दुष्ट, दलाल–गद्दार र बेमान–बदमास भएर अनि सजिलो बाटो मात्र खोज्नेहरु धेरै भएर हो । तिनीहरु नै पार्टीमा हावी भएर हालीमुहाली हुने गरेरर पो यस्तो विकृती,विसङ्गती र विचल्ली भएको हो । त्यसैले अब त नयाँ शिराबाट यी भित्रका र बाहिरका सच्चा, स्वच्छ र स्वाभिमानी क्रान्तिकारीहरुको एकैसाथ ध्रुवीकरण, शुद्धीकरण र रुपान्तरण भएर एउटा सशक्त क्रान्तिकारी, देशभक्त र जनवादी कम्युनिस्ट पार्टी बन्छ ।

यस्तो पार्टीले नै देशमा भीषण क्रान्तिकारी आन्दोलनको आँधिबेहरी ल्याउँछ र क्रान्ति पूर्णरुपले सम्पन्न हुन्छ । त्यसपछि क्रान्तिकारी कम्युनिस्ट सत्ता, क्रान्तिकारी कम्युनिस्ट सरकार र क्रान्तिकारी कम्युनिस्ट जनप्रतिनिधिसभा र सदन बन्छ । देशमा सामाजिक न्याय, आर्थिक समानता, आत्मिक सुख, दीगो शान्ति र समग्र समृद्धि हुन्छ । तसर्थ अब सत्ताधारी नेकपाका न्याय, समानता, स्वतन्त्रता र समृद्धिका पक्षधर सम्पूर्ण सच्चा देशभक्त र क्रान्तिकारी कम्युनिस्ट नेता, कार्यकर्ता, जनसमुदाय, संघसंस्था र संगठनहरु सहित देशविदेशमा छरिएर रहेका नेपाली कम्युनिस्ट क्रान्तिकारीहरु नयाँ ढङ्गले एकताबद्ध र सुदृढ बनौं । साहस, समर्पण र सकृयताका साथ संकल्पबद्ध भै संघर्षरत होऔं । नेपालमा हामी कम्युनिस्ट क्रान्तिकारीहरुको भविश्य जरुर उज्ज्वल छ । क्रान्तिकारी चेतना भया ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्