विदेशमा कोरोनाका कारण मर्ने नेपालीको संख्या शून्य



लण्डन । विदेशमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या शून्यमा झरेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सञ्जिव सापकोटाका अनुसार पछिल्लो ६ साता यता पहिलो पटक विदेशमा संक्रमणका कारण हुने मृत्यु शून्यमा कायम रहेको हो ।

गैरआवासीय नेपाली संघका अनुसार गत वर्ष देखि विश्वव्यापी रुपमा फैलियो कोरोना भाइरस संक्रमणका कारण गत सातासम्ममा २१ देशमा रहेका ३ सय ४१ जना नेपालीको निधन भएको थियो । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा.सापकोटाका अनुसार यो साता कोरोना संक्रमण दरमा समेत उल्लेख्य रुपमा कमी आएको छ । यो साता स्वीडेन, स्पेन, केन्या, युएईमा रहेका थप नेपालीहरुमा सामान्य रुपमा थप कोरोना संक्रमण देखिएको छ ।

उहाँका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ३ सय ७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६१ हजार २ सय ३७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
यसैबीच, कोरोना भाइरसका कारण नेपालमा ३ हजार १४ जनाको निधन भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ७५ हजार १ सय ७८ जना भने २ लाख ७१ हजार २ सय ४९ जना कोरोनाबाट मुक्त भएका छन् । संक्रमणमुक्त हुने दर ९८ दशमलव ६ प्रतिशत छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सापकोटाका अनुसार हाल विश्वभर प्रयोगमा रहेका खोपहरु सुरक्षित रहेकाले ढुक्क भएर खोप लगाउन आग्रह गरेका छन् । खोपका विषयमा हालसम्म पनि विभिन्न खाले भ्रम यथावत रहेको भन्दै सापकोटाले केही अपवाद बाहेक खोप प्रयोगबाट कुनै खाले गम्भीर समस्या नदेखिएकोले खोप प्रयोगका लागि उपयुक्त मानिएका सबैले खोप लगाउनुपर्नेमा जोड दिए ।

उनले थपे, खोप सुरक्षित छ, तर केही विशेष अवस्थाका मानिस जस्तै जसको प्रतिरक्षा प्रणाली कमजोर छ, जटिल रोग लागेका तथा अन्य जटिल स्वास्थ्य समस्या भएकाले भने चिकित्सकसँग सल्लाह गरेर मात्रै खोप लिन हुने वा नहुने निश्चित गरेर मात्रै प्रयोग गर्नुपर्छ । खोप लगाएपछि पनि मास्कको प्रयोग, स्वास्थ्य मापदण्ड भने अपनाउनु पर्ने उनको भनाई छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्