माओवादी केन्द्रकाे नाम परिवर्तन गर्ने प्रस्तावमा छलफल



चैत्र १,  काठमाडाैं । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले नाम परिवर्तन गर्ने भएको छ। अध्यक्ष प्रचण्डको प्रस्तावमा माओवादी केन्द्र हटाएर नेपाली कम्युनिस्ट पार्टी राखिने भएको हो। आइतबार पेरिस डाँडास्थित पार्टी केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कमिटी बैठकमा नाम परिवर्तन गरेर नेपाली कम्युनिस्ट पार्टी राख्‍ने प्रस्ताव आएको एकजना केन्द्रीय सदस्यले बताए ।

फागुन २३ मा सर्वोच्च अदालतले नेकपा खारेज गरिदिएर साविककै कायम गरिदिएपछि माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार र बिहीबार पेरिस डाँडामै बसेको थियो। उक्त बैठकमै माओवादी केन्द्र हटाएर नेपाली कम्युनिस्ट पार्टी मात्रै राख्ने सहमति जुटाइएको थियो। त्यही सहमति अनुसार नेपाल कम्युनिस्ट पार्टी नाम केन्द्रीय समितिमा प्रस्ताव भएको हो।

नाम परिवर्तनको प्रस्तावमाथि केन्द्रीय समितिमा छलफल हुनेछ। एमालेमा अध्यक्ष केपी ओली, वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव कुमार नेपालबीच विवाद जारी रहँदा माओवादी केन्द्रले पार्टीको नाम फेर्ने तयारी गरेको हो। ओलीसँग विद्रोह गरेर झलनाथ माधवहरु एमालेबाट बाहिरिने र माओवादी केन्द्रभित्र गोलबद्ध हुन समस्या हुने भन्दै पार्टीको नाम फेर्ने विषयमा माओवादी केन्द्रमा छलफल भएको छ।

बैठकको तेस्रो एजेण्डामा पार्टीको नाम फेर्ने सम्बन्धमा सदस्यहरुको राय मागिदैछ। सोही एजेण्डामा कम्युनिस्ट पार्टीबीच एकीकरणको विषय पनि समेटिएको छ। केही दिन अघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल पक्षलाई पेलिरहेको भन्दै उक्त समूहले एमाले कव्जा गर्ने नभए विद्रोह गर्ने दावी गरेका थिए। त्यसैले माधव नेपाल पक्षका नेता कार्यकर्तालाई समस्या पर्ने कुनै पनि गतिविधि नगर्न उनले नेता कार्यकर्तालाई आग्रह गरेका थिए।

अझैपनि माधव झलनाथसहित वृहत वामपन्थी एकताको सम्भावना कायम रहेको प्रचण्डको भनाइ थियो। बृहत् वाम एकता अभियान चलाउने बताइरहेका प्रचण्ड ऋषि कट्टेल र नेत्रविक्रम चन्द विप्लवलाई पनि तान्न सहज हुने गरी नाम राख्न लागेका हुन्।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्