राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने, चियापान र केन्द्रीय कमिटी बैठकमा पनि नजाने नेपाल समूहकाे निर्णय



काठमाडाैँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने भएको छ।

बानेश्वरस्थित एक होटलमा बसेको नेपाल समूहको बैठकले ४ र ५ चैतका लागि बोलाएको राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने निर्णय गरेको केन्द्रीय सदस्य विजय पौडेलले जानकारी दिए। यस्तै यथास्थितिमा अध्यक्ष केपी शर्मा ओलीले निम्ता गरेको चियापान कार्यक्रम र केन्द्रीय कमिटी बैठकमा पनि नजाने निर्णय नेपाल समूहले गरेको छ।

सोमबार दिउँसो अध्यक्ष ओलीसँगको भेटपछि नेता नेपालले आफूनिकट केन्द्रीय सदस्य र सांसदलाई ब्रिफिङ गर्ने क्रममा ओली विवाद मिलाउने मुडमा नदेखिएको बताएका थिए। ओली समस्या समाधानमा केन्द्रित हुनेभन्दा पनि प्रतिक्रियात्मक बढ्ता देखिएका कारण यथास्थितिमा ओलीले निम्ता गर्ने कुनै पनि बैठकमा सहभागी नहुने निर्णय गरेको पौडेलले बताए।

पौडेलले अध्यक्ष ओलीले २८ फागुनको निर्णय सच्याउनुपर्ने र कमजोरीप्रति आत्मालोचित हुनुपर्ने र तीन वर्षअघिको एमालेकै अवस्थाबाट काम सुरु गर्न सहमत हुनुपर्ने लगायतका मतलाई निरन्तर राख्नुपर्ने धारणा आएका थिए। दिउँसो ओलीसँगको भेटमा नेता नेपालले तिनै एजेण्डा उठाएका थिए।

प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीसँगको छलफलमा वरिष्ठ नेता नेपालले २८ फागुनको निर्णय फिर्ता लिन माग गरेका थिए। तर, अध्यक्ष ओलीले भने २८ फागुनको निर्णय फिर्ता हुन नसक्ने बताएका थिए। दुवै पक्षले आआफ्नो अडान नछोडेपछि छलफल ठोस निष्कर्षमा नपुगेरै सकिएको थियो।

छलफलमा नेपाल समूहले पार्टीलाई एकतावद्ध बनाउन २८ फागुनमा गरेको निर्णय फिर्ता लिनु पर्ने बताएको थियो। तर , अध्यक्ष ओलीले भने तत्काल २८ फागुनको निर्णयमाथि पुनर्विचार गर्न नसकिने बताएका थिए। उनले त्यसका लागि नेपाल समूहले सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्युँताएपछि गरेका गतिविधिबारे पनि छलफल हुनुपर्ने बताएका छन्। उनले प्रस्टै भनेका थिए, ‘त्यतातिर जाँदा १९ पन्नेतिर जानुपर्छ।’

बैठकमा अध्यक्ष ओलीले नेपाल समूहले ४ र ५ चैतमा बोलाएको राष्ट्रिय कार्यकर्ता भेला स्थगित गर्न आग्रह गरेका थिए। तर, नेपाल समूहले त्यसका लागि २८ फागुनको निर्णय फिर्ता लिनु पर्ने सर्त राखेको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्