मन्त्रीहरुलाई फिर्ता बोलाउन पत्र पठाइयो



काठमाडौं । नेकपा माओवादी केन्द्रले आफ्नो पार्टीबाट मन्त्री भएका सातै जनालाई फिर्ता हुन पत्र पठाएको छ । माओवादी केन्द्रले मन्त्रीहरु रामबहादुर थापा, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, गौरीशंकर चौधरी, मणि थापा र दावा तामाङलाई फिर्ता हुन निर्देशन सहितको पत्र पठाएको हो ।

‘सातै मन्त्रीलाई फिर्ता हुन पत्र पठाइएको छ । ६ जनालाई भेटेर पत्र दिइएको छ भने एकजनालाई नभेटेपछि हुलाकमार्फत पठाइएको छ,’ माओवादी केन्द्रीय कार्यालय स्रोतले भन्यो, ‘मन्त्री दावा तामाङलाई हुलाकमार्फत उनको मन्त्रालयमा पत्र पठाइएको हो ।’ तर सोमबारसम्म कसैले पनि जवाफ पठाइ नसकेको बुझिएको छ ।

शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले माओवादीबाट मन्त्री बनेका संघीय मन्त्रीलाई फिर्ता बोलाउने र सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । सोमबार बसेको केन्द्रीय समिति बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रीहरुलाई स्पष्टिकरण सोधेको र समयभित्र जवाफ नआए सोही अनुसार अघि बढ्ने बताएका थिए ।

माओवादीले सरकारलाई दिएको समर्थन भने फिर्ता लिएको छैन । यसैबीच एमालेतिर लागेका प्रभु साह लगायतका केही मन्त्री पुन माओवादीमै फिर्ता हुने तयारीमा लागेका छन् । साह लगायतका अन्य ३ जना मन्त्रीहरुले फिर्ता हुनेबारे माओवादी नेतृत्वसँग विभिन्न चरणमा छलफल गरेको बुझिएको छ ।

मन्त्री साहले पनि फिर्ता हुनेबारे नेताहरुसँग कुराकानी भएको स्वीकार गरे । उनले भने, ‘फिर्ताबारे कुराहरु भइरहेको छ । अहिले सकारात्मक ढंगले कुरा भएको मात्र भन्न सकिन्छ ।’ मन्त्री साह पछिल्लो पटक एमालेको ओली पक्षले बोलाएको बैठकमा समेत सहभागी भएका छैनन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्