छोरा पाउन दबाव दिएका कारण सुकीले कर्णालीमा हाम फालेको रहस्य खुल्यो



कमल बिक्रम जिसी, काठमाडाैं ।   दैलेखको आठबीस नगरपालिका-३ निमायलकी ३५ वर्षीया सुकी बडुवालले चार छोराछोरीसहित कर्णाली नदीमा हाम फालेको घटनामा सबै जनाको पानीमा डुबेर मृत्यु भएको पोस्टमार्टम रिपोर्टले देखाएको छ । जिल्ला अस्पतालले मृतक सबैको पोस्टमार्टम गरी प्रहरीलाई बुझाएको रिपोर्टमा उक्त निष्कर्ष उल्लेख छ ।

‘रिपोर्ट हेर्दा सबै जनाको डुबेर मृत्यु भएको देखिन्छ,’ जिल्ला अस्पताल अछामका प्रमुख डा.अतुल भारद्वाजले भने । सुकीले अघिल्लो आइतबार छोरीहरू १४ वर्षीया कल्पना, ११ वर्षीया सरिता, ५ वर्षकी रजनी र छोरा ८ वर्षीय ललितसँगै कर्णाली नदीमा हाम फालेकी थिइन् ।

रिपोर्ट अनुसार सुकीको गर्भमा ४ महिनाको शिशुसमेत थियो । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार गर्भपतन गर्ने विषयमा सुकीका श्रीमान् मानसिंहसँग विवाद भइरहेको थियो । घटनाको दुई साताअघि दिदी नाता पर्ने नैना थापाले सुकीलाई केही रकम सापटी दिएकी थिइन् ।

‘सापटीकै पैसाले श्रीमानले दिनदिनै मदिरा खाएर कुट्ने गरेकाले जन्मिएको बच्चाले पनि दुःख पाउँछ भन्दै उनले आत्महत्या गरेकी हुन सक्छिन्,’ उनले भनिन्, ‘लामो समयदेखि आफू श्रीमानबाट पीडित भएको कुरा उनले मसँग पनि बताएकी थिइन् ।’ मानसिंहले परपुरुषसँग सम्बन्ध भएको आरोप लगाउँदै सुकीलाई पटक-पटक यातनासमेत दिने गरेका थिए ।

दुईबीचको झगडा धेरै पटक मिलाएको सुकीका भिनाजु शेरबहादुर सिजापतिले बताए । ‘छोरा चाहिन्छ भन्दै पटक-पटक यातना दिने गरेका रहेछन्,’ उनले भने, ‘लगातारको कुटपिटका कारण सुकीमा मानसिक समस्या पनि देखिएको थियो ।’ एक वर्षको अवधिमा ५-६ पटक माइती गएकी सुकीलाई घरपरिवारसँग मिल्नुपर्छ भन्दै आफूहरूले फिर्ता पठाएको उनी सम्झन्छन् । सुकीका छिमेकी एवं तत्कालीन जिल्ला विकास समितिका पूर्वसदस्य खड्कबहादुर शाहीले गर्भमा रहेको बच्चाका कारण सुकी र मानसिंहबीच लामो समयदेखि खटपट चलिरहेको बताए । ‘गर्भमा बच्चा थियो, चेक गरेर छोरा भए राख्ने र छोरी भए अबोर्सन गर्ने कुरा हामीले सुनेका थियौं,’ उनले भने ।

घटनालाई लिएर दैलेख र अछाममा फरक-फरक मुद्दा दर्ता भएको छ । अछामका प्रहरी प्रमुख डीएसपी तुल्सीराम अर्यालले शव फेला परेपछिको अनुसन्धान अछाममा र त्यसभन्दा अघिको छानबिन दैलेखमा हुने बताए । दैलेख प्रहरी प्रमुख डीएसपी अनुप श्रेष्ठले जिल्लामा आत्महत्या दुरुत्साहनको मुद्दा मात्रै चल्ने स्पष्ट पारे । जसअनुसार मृत्युसम्बन्धी मुद्दा अछाममा हेरिने भएको हो ।

मृतकका आफन्तले मंगलबार उजुरी दर्ता गराएका छन् । पोस्टमार्टम रिपोर्ट ढिलो आएकाले मुद्दा दर्ता गर्न ढिलाइ भएको मृतकका भाई बजिर थापाले बताए । ‘रिपोर्ट आउनै १० दिन लाग्यो,’ उनले भने, ‘६ जनाको ज्यान गएको छ, न्याय पाउने आशासहित मुद्दा दर्ता गरेका छौं ।’ सबै मृतकको पोस्टमार्टम गर्नुपर्ने भएकाले रिपोर्ट आउन समय लागेको जिल्ला अस्पतालका प्रमुख डा. भारद्वाजले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्