एमालेले गठन गर्‍यो संसदीय बोर्ड, को-को परे ?



काठमाडौं। नेकपा एमालेले संसदीय दलको बोर्ड गठन गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो। सांसद निरुदेवी पालका अनुसार बोर्डमा २७ जना रहनेछन्।

सांसद महेश बस्नेतका अनुसार तीन जना पछि मनोनयन गर्ने गरी आज २४ सदस्यीय बोर्ड गठन भएको छ। बोर्डमा झलनाथ खनाल र माधवकुमार नेपालसहित उक्त पक्षका सांसदहरूलाई पनि मनोनीत गरिएको छ। बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाउन कार्यदल गठन गरिने बस्नेतले बताए।

त्यसका लागि तीन सदस्यीय कार्यदल गठन गरेको सांसद शेरबहादुर तामाङ्ले बताए। प्रमुख सचेतक विशाल भट्टराई, सांसद शेरबहादुर तामाङ र राष्ट्रिय सभा सदस्य बिमला राई पौडेल रहेका छन्। त्यस्तै बिहीबारको बैठकले गुटगत भेलामा जाने सांसदलाई सचेत गराउने र अटेर गरेमा कारबाही गर्ने निर्णय गरेको पनि बस्नेतले जानकारी दिए।

दलको अर्को बैठक चैत ७ गते बस्ने सांसद शेरबहादुर तामाङले बताए। बोर्डको प्रमुखमा दलका नेता ओली छन्। सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, उपनेता सुवास नेम्वाङ छन्। त्यस्तै शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक पनि सदस्य मनोनीत भएका छन्।

दलका नेता, उपनेता, प्रमुख सचेतक र सचेतक बोर्डमा पदेन सदस्य रहने व्यवस्था रहेको सांसद तामाङले जानकारी दिए। बोर्डका अन्य सदस्यमा प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन वानिया र राजेन्द्र राई रहेको सांसद महेश बस्नेतले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्