नेपाल आएका बहराइनका राजकुमार तानिए विवादमा



काठमाडौं । नेपाल आएपछि बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल खलीफा विवादमा तानिएका छन् । उनी सोमबार नेपाल आइपुगेका हुन् । २००० डोज कोरोना भाइरस विरुद्धको खोप लिएर नेपाल आएपछि उनी विवादमा मुछिएका छन् ।

औषधि व्यवस्था विभागले बहराइनका राजकुमारलाई भाइरस विरुद्धको खोप ल्याउने अनुमति नदिइएको भए पनि उनले खोप ल्याएपछि चेकजाँच सुरु गरेको जानकारी दिएको छ । विभागका अनुसार खोप लयाउन पूर्वस्वीकृती आवश्यक पर्छ ।

उता, लण्डनस्थित बहराइनको दूतावासले राजकुमार मोहम्मदलाई औषधि ल्याउने अनुमति दिइएको भएपनि आशंकाका कारण उनीमाथि चेकजाँच सुरु भएको बताएको छ । नेपालस्थित बहराइको दूताबासका अनुसार राजकुमार मोहम्मदले ल्याएको उक्त खोप गोरखाको चुमनुरबी गाउँमा वितरण गरिनेछ ।

राजकुमार मोहम्मदको भ्रमण व्यवस्थापक सेभेन समिट्स ट्रेकका प्रवक्ता थानेश्वर गुरागाईंले नेपाली सञ्चारमाध्यमलाई उक्त टोली सात दिनको क्वारेन्टिन बसाइपछि गोरखा जाने र त्यहाँ खोप वितरण गरेपछि सगरमाथा आरोहणका लागि जाने योजना रहेको थियो । नेपालमा २००० डोज कोरोनाको खोप विनाअनुमति राजकुमार मोहम्मदले कसरी भित्र्याए भन्ने विषयलाई लिएर छलफल सुरु भएको विभागले जानकारी दिएको छ ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले भने, “हामीलाई बहराइनका राजकुमार २००० डोज कोरोना खोप लिएर आएका छन् भन्ने जानकारी आएको छ । यसको विषयमा हामीले छलफल सुरु गरेका छौँ ।” विभागका प्रवक्ता केसीका अनुसार नेपालमा कुनै पनि औषधि ल्याउनका सरकारको अनुमति लिन जरुरी छ । सरकारलाई औषधि सही तरिकाले भण्डारण भएको समेत जानकारी दिन आवश्यक हुन्छ ।

नेपालमा माघ २६ गतेदेखि कोरोनाविरुद्धको खोप कार्यक्रम सुरु भएको छ । प्राथमिकताका आधारमा खोप लगाउने कार्यक्रम अन्तरगत हाल ६५ वर्ष उमेरसमूह माथिका व्यक्तिहरुले खोप लगाइरहेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्