काठमाडौं । कांग्रेस नेता रामचन्द्र पौडेलले कांग्रेसले सरकारको नेतृत्वमा अरु दललाई अघि बढाएर भएपनि केपी ओलीको विकल्प खोज्नुपर्ने बताएका छन् । शनिबार नेपाल ट्रेड युनियन कांग्रेसका संस्थापक अध्यक्ष गिरिजाप्रसाद कोइरालाको ११औँ स्मृति सभामा बोल्दै वरिष्ठ नेता पौडेलले कांग्रेसले अरु पार्टीलाई सरकारको नेतृत्वमा अघि सारेर भएपनि प्रधानमन्त्री केपी ओलीको विकल्पमा जानुपर्ने बताएका हुन् ।
राजनीतिक अन्यौलता छाएको भन्दै उनले अन्यौलतालाई अन्त्य गर्न कांग्रेसले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्ने बताए । नेतृत्वले निर्णय लिन नसकेको भन्दै उनले पार्टी नेतृत्व किंकर्तव्यविमुढ भएर बस्ने बेला नभएको धारणा राखे । उनले भने, ‘अहिलेको संसदमा रहेको हाम्रो पार्टीको नेतृत्वले गर्ने काम, संसदमा रहेका पार्टीहरू मध्ये को–को सँग मिलाएर÷मिलेर के गरेर हुन्छ कसैलाई अगाडी बढाएर हुन्छ कि, आफू अगाडी बढेर हुन्छ कि अहिलेको ओली जसले यत्रो ठूलो उत्पात गरे । उधुम गरे । तिनको विकल्पमा नयाँ शसक्त विकल्प नेपाली कांग्रेसले प्रस्तुत गर्नका लागि संयोजकको भूमिका कौग्रेसले खेल्नुपर्छ । यो पार्टीले सबै पार्टीलाई समायोजन गर्ने हैसियत राख्नुपर्छ । देशलाई ठिक दिशा दिने हैसियत राख्नुपर्छ । देशलाई अन्यौलमा राख्ने होइन । अहिलेको अन्यौललाई अन्त्य गर्ने हैसियत कांग्रेसले राख्नुपर्छ ।’

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।