चामे । मनाङमा हिजो भएको ट्रक दूर्घटना परि मृत्यु हुनेको संख्या ६ पुगेको छ । ध१ख ५९२ नम्बरको मालबाहक ट्रक खोत्रोमा दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार घटनास्थलमा तीन जनाको र उपचारका क्रममा तीन जनाको मृत्यु भएको छ ।
मनाङको नासों गाउँपालिका वडा नम्बर ४ स्थित खोत्रोमा शनिबार अपरान्ह ३ बजेतिर ट्रक दुर्घटना भएको थियो । ‘घटनास्थलमै तीनजना र उपचारका लागि लमजुङ लगिएका दुई तथा चितवन मेडिकल कलेज पुर्याइएका एक जना गरी ६ जनाको मृत्यु भएको छ,’ उनले भने ।
लमजुङको बेशीसहरबाट सिमेन्ट बोकेर मनाङ जाँदै गरेको ट्रक दुर्घटना हुँदा मनाङको नासों गाउँपालिका वडा नम्बर ४ की ३५ वर्षिया मनिषा गुरूङ, ३० वर्षिया जलकाशी गुरूङ र मनिषाका छोरा डेढ वर्षिय लियोन गुरूङको घटनास्थलमै मृत्यु भएको हो ।
घाइतेमध्ये मनाङको चामेका २८ वर्षिय राजु विक र लमजुङ मर्स्याङ्दी खोरियाखेतका २१ वर्षिय लक्ष्मण नेपालीलाई पचारका लागि लैजाँदै गर्दा लमजुङमा शनिबार बेलुकी निधन भएको थियो । यस्तै नासों गाउँपालिका १ तालका ३ वर्षिय थियोन गुरूङको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले बताएको छ । गम्भीर घाइते दुई जनाको उपचार जारी रहेको उनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।