आफूले भने अनुसार काम नगरेको भन्दै वडाध्यक्षले ओभरसियरलाई कुटे



बुटवल । रुपन्देहीमा एकजना वडाध्यक्षले गाउँपालिकाका कर्मचारीलाई कुटपटि गरेका छन् । आफू अनुकूलको काम नगरेको भन्दै रुपन्देहीको मर्चवारी गाउँपालिका वडा–३ का वडाअध्यक्षले पालिकामै कार्यरत सब–ओभरसियरलाई कुटपिट गरेका हुन् ।

वडाअध्यक्ष नारायणबहादुर यादवले गाउँमा निर्माण गरिएको सडकको गलत रिपोर्ट तयार गरी प्रमाणित गर्न भनेको र गाउँपालिकाको प्राविधिक शाखामा कार्यरत सब–ओभरसियर प्रेमसागर पासवानले अस्वीकार गरेपछि कार्यालयमै कुटपिट गरेका थिए । वडाको रायपुर भन्ने स्थानको नहरदेखि पश्चिम जाने १३ सय मिटर सडक गाउँपालिकाको करिब एक करोड रुपैयाँको लागतमा उपभोक्ता समितिमार्फत् कालोपत्रे गरिएको थियो ।

उपभोक्ता समितिको नाममा कागजी प्रक्रिया पुर्याएर वडा अध्यक्ष यादव आफैले निर्माण गरेको उक्त सडक मापदण्डभन्दा कमसल बनाइएको भए पनि मापदण्ड अनुरूप निर्माण भएको भन्ने प्रमाणित गरिदिन दबाव दिएपछि सबओभरसियर पासवानले अस्वीकार गरेका थिए । पासवानले आफू अनुकूल सडकको कागजातमा प्रमाणित नगरिदिएपछि वडा अध्यक्ष यादवले कुटपिट गरेको प्रत्यक्षदर्शीले बताए ।

उक्त सडक कालोपत्रे गर्दा १५ सेन्टिमिटर थिकनेस गर्नुपर्ने भए पनि ७ सेन्टिमिटरमात्रै गरिएको छ तर वडाअध्यक्ष यादवले भने १५ सेन्टिमिटर थिकनेसको कालोपत्रे गरिएको भनी प्रमाणित गरिदिन दबाव दिएको र आफूले अस्वीकार गरेपछि कुटपिट गरेको पीडित पासवानले बताए । यता वडाध्यक्ष यादवले पासवानलाई कुटपिट गरेपछि कर्मचारीहरूले सोमबार गाउँपालिकाको कामकाज ठप्प पारेका छन् ।

सहकर्मीमाथि हातपात भएको भन्दै गाउँपालिकाको कामकाज ठप्प पारेका कर्मचारीले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत धर्ना दिन पुगेका थिए । वडाध्यक्षले गरेको कुटपिटविरूद्ध जाहेरी लिएर जिल्ला प्रहरी कार्यालय पुगेका नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष र आधिकारीक ट्रेड युनियनका प्रतिनिधिहरूलाई रुपन्देही प्रहरीले जाहेरी नलिई फिर्ता गरेको संगठनका अध्यक्ष केशवराज भट्टराईले बताए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्