कोरोनाको दोश्रो लहर आउनसक्छः पहिले जस्तै सतर्क रहनु



काठमाडौं । कोरोना भाइरस संक्रमितको संख्या बढ्न थालेपछि काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका निर्देशक सागर राजभण्डारी चिन्तित छन् । उनलाई डर छ– युरोपेली देशमा झै नयाँ भेरियण्टको कोरोना फैलिएको त होइन ? त्यसो त गएको १ वर्षयता महामारी नियन्त्रणमा खटिएका अन्य चिकित्सकजस्तै उनले आराम गर्न पाएका छैनन् ।

टेकु अस्पतालमा २०७६ चैत दोस्रो हप्ता कोरोना भाइरसको दोस्रो केस भेटिएयता आजसम्म शून्य संक्रमित भएर वार्ड खाली भएको छैन । पछिल्लो १० दिनयता कोरोना महामारीको शुरुवाती चरणमा जस्तै तनाव थपिएको डा. राजभण्डारी बताउँछन् । ‘संक्रमण भेटिइरहेको बेला सरकारले महामारी नियन्त्रणको अभ्यास गर्न चटक्कै छाड्नु हुदैनथ्यो’ उनी भन्छन्, ‘नागरिकलाई पनि लापरवाही गर्ने छुट थिएन ।’

पछिल्लो १० दिनयता संक्रमणको दर निरन्तर बढिरहेको छ । मंगलबार ४ हजार ३२ जनाको परीक्षण गर्दा १ सय ८८ जनामा र सोमबार ४ हजार ४ सय ७२ जनाको परीक्षण गर्दा १ सय ५५ जनामा संक्रमण देखिएको छ । महामारी नियन्त्रणमा नआउँदै सरकार र नागरिकले लापरवाही गरेकाले यो अवस्था आएको बताउने डा. राजभण्डारी फेरि पहिलेको संयत्र र व्यवहार पुनः सक्रिय गराउनुपर्ने बताउँछन् । नेपालमा जिन सिक्विन्सिङ गर्ने प्रविधि नभएर पछिल्लो समय भेटिएको संक्रमण कुन भेरियण्टको हो भन्ने पुष्टी हुन सकेको छैन । तर राजभण्डारी नयाँ भेरियण्टको कोरोना भाइरस फैलिइसकेको आशंका गर्छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले (इडिसिडी) यसअघि ३ जनामा नयाँ भेरियण्ट भेटिइसकेको पुष्टी गरेकाले उनको दाबीमा सत्यता रहेकोमा अधिकांश जनस्वास्थ्यविज्ञ सहमत छन् । किनकि पछिल्लो समय भेटिएका धेरै संक्रमितमा ‘एस जिन’ देखिएको छैन । एस जिन नदेखिएको भाइरसमा नयाँ भेरियन्टको भाइरस छ कि भनेर आशंका गर्न सकिने इडिसिडीका निर्देशक डा. कृष्ण पौडेल बताउँछन् ।

डा. राजभण्डारीका अनुसार नेपालमा अहिले बढेको संक्रमण युरोपेली देशमाझै कोरोनाको दोस्रोर तेस्रो लहरको संकेत हो । भलै यो विषयमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आधिकारिक घोषणा गरेको छैन । तर अधिकांश जनस्वास्थ्य विज्ञ कोरोनाको दोस्रो लहर आएकामा सहमत छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्