कोरोना बढ्न सक्ने भन्दै भीडभाड नगर्न ३ जिल्लाको निर्देशन



काठमाडौं । उपत्यकाका तीन वटै जिल्ला प्रशासन कार्यालयले कोरोना भाइरसको संक्रमण बढेको भन्दै भीडभाड नगर्न भनेको छ । बुधबार काठमाडौं, ललितपुर र भक्तपुरमा छुट्टाछुट्टै बसेको डिस्ट्रिक कोभिड–१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (डिसिसिएमसी) को बैठकले भीडभाड हुने कार्यहरू नगर्न भनेको हो । आउँदो चैत १५ र १६ गते हुने होली पर्वलाई घरमै मनाउन, सार्वजनिक स्थलमा जाँदा अनिवार्य मास्कको प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, जात्रा, पर्व, संस्कृतिहरूमा हुने भेला जमघट नगर्न प्रशासन कार्यालयले निर्देशन दिएको हो ।

काठमाडौं प्रशासनले सार्वजनिक स्थलमा मास्कको प्रयोग नगरेमा संक्रामक ऐन अनुसार कारबाही गरिने समेत चेतावनी दिएको छ । ललितपुर प्रशासन कार्यालयले ११ बजेपछि सञ्चालन हुने रात्रिकालीन व्यवसायहरू सञ्चालन नगराउन निर्देशन दिएको छ । बुधबार प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाको अध्यक्षतामा बसेको रात्रीकालीन व्यवसायीहरू सञ्चालन नगराउन निर्देशन दिएको हो ।

त्यस्तै, व्यवसायहरू सञ्चालन गर्दा भिडभाड नहुने र स्वास्थ्य तथा सुरक्षाका मापदण्डहरूको व्यवस्था मिलाउन भनिएको छ । पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको थियो । त्यही परिपत्र अनुसार ललितपुरले अस्पताल र स्वास्थ्य संस्थाहरू महामारी व्यवस्थापनको लागि आवश्यक तयारी अवस्थामा लगाउने निर्णय गरेको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्