नेपाल टेलिकमले सीडीएमए (स्काई फोन) सेवा बन्द गर्ने



काठमाडौं। नेपाल टेलिकमले सीडीएमए (स्काई फोन) सेवा बन्द गर्ने भएको छ। त्यसका लागि कम्पनीले सीडीएमए प्रयोगकर्तालाई जीएसएम सिमसहितको माेबाइल सेट उपलब्ध गराउने याेजना ल्याउने भएको छ।

टेलिकमले चालू आर्थिक वर्ष २०७७/०७८ को वार्षिक कार्यक्रममार्फत स्काई फाेन बन्द गर्ने र त्यसका प्रयोगकर्तालाई जीएसएम सेवामा रुपान्तरण गर्ने योजना ल्याएको थियो। पछिल्लो समय नयाँ र सहज प्रविधिको रुपमा जीएसएम मोबाइल सेवाको विस्तारले रफ्तार लिएको छ। यस्तो अवस्थामा पुरानो प्रविधिमा आधारित सिडिएमए सेवालाई विस्थापन गर्ने योजना टेलिकमले बनाएको हो।

यसअघि सञ्चार तथा सूचना प्रविधिमन्त्रीको अध्यक्षतामा रहेको रेडियो फ्रिक्वेन्सी नीति निर्धारण समितिले नै नेपाल टेलिकमले दिँदै आएको सीडीएमए सेवा सन् २०२२ देखि बन्द गर्ने निर्णय गरेको थियो।

समितिको उक्त निर्णयले पनि टेलिकमले यस वर्षको वार्षिक कार्यक्रममा सीडीएमए माइग्रेसनलाई प्रमुख कार्यक्रमको रुपमा अघि बढाएको थियो। तर, कोभिड १९ का कारण कार्यान्वयन भने ढिलाई भएको छ।

‘हाम्रो योजना यही आर्थिक वर्षभित्र सीडीएमएलाई पूर्णरुपमा विस्थापित गर्ने योजना थियो,’ टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले भने, ‘तर, कोभिड १९ का कारण सहज रुपमा काम गर्ने अवस्था नहुँदा कार्यक्रम लम्बिएको हो। तर पनि हालसम्म एक सय ५० भन्दा बढी साइट बन्द भइसकेको छ।’

यस योजनाअन्तर्गत सीडीएमए फोन प्रयोगकर्तालाई जीएसएम टूजी, थ्रीजी र फोरजीमा रुपान्तरण गर्ने योजना टेलिकमको रहेको छ।

‘तराई भेगमा हाल सीडीएमएबाट जीएसएममा रुपान्तरण गर्ने काम भइरहेको छ,’ अघिकारीले भने, ‘विस्तारै हिमाली भेगमा पनि सीडीएमए फोन प्रयोगकर्तालाई जीएसएममा रुपान्तरण गर्ने तयारी गरिरहेका छौं।’

अधिकारीका अनुसार हिमाली भेगामा सीडीएमए फोन प्रयोगकर्ताको संख्या धेरै छ। त्यसैले त्यहाँका प्रयोगकर्तालाई फोनसहितको प्याकेज उपलब्ध गराउने योजना टेलिकमको रहेको छ।

त्यसका लागि फारजीका साथै भ्वाइस ओभर एलटीई (VoLTE) सपोर्ट गर्ने फोनका लागि टेण्डर आह्वान भइसकेको छ। उक्त सेट आएसँगै सीडीएमए ग्राहकलाई सेटसहितको सर्भिस उपलब्ध गराउने योजना टेलिकमको रहेको अधिकारीले बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्