होलीमा सार्वजनिक कार्यक्रम गर्नेलाई पक्राउ गर्न निर्देशन



काठमाडौं । होली मनाउनका लागि सार्वजनिक कार्यक्रमको आयोजना गर्नेलाई स्थानीय प्रशासनले पक्राउ गर्ने भएको छ । गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले होलीको कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गर्न निर्देशन दिइएको बताए । यसअघि नै गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको जोखिमका कारण सरकारले फागु पूर्णिमामा भीडभाड गरेर होली नखेल्न सार्वजनिक आग्रह गरिसकेको छ ।

‘भीडभाड गरेमा प्रहरीले कारवाही गर्छ,’ सह–सचिव बुढाले भने, ‘सार्वजनिक ठाउँमा कार्यक्रम आयोजना गरेमा आयोजकलाई पक्राउ गरेर कारवाही गर्न सबै प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छौँ ।’ स्वतस्फूर्त मानिस निस्केर भीड भएमा उनीहरुलाई सम्झाइ बुझाइ गर्न गृहको निर्देशन छ । तर, कार्यक्रम आयोजना गर्नेलाई चाहिँ संक्रामक रोग ऐन–०२० अनुसार कारवाही गरिने भएको छ ।

संक्रामक रोग ऐन–०२० अनुसार आदेश अवहेलना गरेमा १ महिना कैद र १०० रुपैयाँ जरिवाना हुने कानुनी व्यवस्था छ । सो ऐनले सरकारको काममा बाधा र्पुयाउनेलाई ६ महिना कैद वा ७० हजार जरिवाना गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको छ । यसैबीच भीडभाडमा हुन नदिने मन्त्रालयको निर्णयपछि महानगरीय प्रहरी कार्यालयले पनि उपत्यकामा होली लक्षित ‘सुरक्षा योजना’ लागु गरेको छ ।

चैत १५ मा पहाडी र १६ मा तराईका जिल्लामा होली मनाइँदै छ । होलीमा भीडभाड हुन नदिन र जबर्जस्ती लोला हान्ने कामलाई रोक्न जिल्ला प्रशासन कार्यालय र स्थानीय प्रहरीले माइकिङ गर्न थालेका छन् । काठमाडौं उपत्यकामा होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि नियन्त्रण गर्न ५ हजार प्रहरी परिचालन गर्नेगरी सुरक्षा योजना तयार गरिएको छ ।

‘कानुन विपरितका गतिविधि नियन्त्रण गर्न सुरक्षा योजनासहित ५ हजार बढी प्रहरी परिचालन गर्छौं,’ महानगरीय प्रहरी कार्यालयका एआईजी हरिबहादुर पालले भने–‘सार्वजनिक ठाउँमा भीड गर्न र कानुन विपरितका क्रियाकलाप हुन दिँदैनौँ ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्