काठमाडौं, १४ चैत । शनिबार बिहान पनि उपत्यकाको वायुप्रदुषण घातक मापन भएको छ ।
प्रदुषणमा डढेलोको धुवाँ मिसिँदा आइतबारदेखि काठमाडौंको आकाश तुवाँलोले ढाकेको छ । शनिबार पनि सर्वसाधारणले आँखा पोल्ने समस्या महसुस गरिरहेका छन् ।
जल तथा मौसम विज्ञान विभागले अपरान्हदेखि हल्का हावा चल्ने भएकाले मौसममा क्रमशः सुधार हुँदै जाने जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले मर्निङ वाकमा नजान, बालबालिका र ज्येष्ठ नागरिकको ख्याल गर्न धूलो उड्ने खाले निर्माण कार्य केही दिनका लागि रोक्न र अत्यावश्यक नभई सवारी साधन नचलाउन आग्रह गरेको छ ।
विश्वभरका सहरको हावाको शुद्धता मापन गर्ने आइक्यू एअर डटकमका अनुसार काठमाण्डौको एक्यूआई अहिले ४२१ रहेको छ । हिजोदेखि काठमाण्डौ उपत्यकालगायत देशका विभिन्न ठाउँको हावाको प्रदूषण अझै केही दिन रहने भएको छ ।
हावाको प्रदूषण मापन सूचक (एक्यूआई) दुई सयभन्दा माथि जानु स्वास्थ्यका लागि घातक मानिन्छ । ३ सयभन्दा माथि पुग्नुलाई अति हानिकारक मानिन्छ ।
नेपालमा धेरैजसो जिल्लाहरुमा डढेलो लागिरहेको र तत्काल पानी पर्ने सम्भावनासमेत नरहेकाले अबको केही दिनसम्म वायुमण्डल सुधार हुने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाण्डाै उपत्यकाको भक्तपुर, कीर्तिपुर, भैंसेपाटी, सिमरालगायतका ठाउँको एक्यूआई हिजोदेखि तीन सय नाघेको छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।