काठमाडौं, चैत १४। सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउन आफूले प्रयास गरिरहेको बताउनुभएको छ । शनिबार संसदीय मामिला पत्रकार समाजको सातौं अधिवेशनलाई सम्बोधन गर्दै सभामुख सापकोटाले पछिल्ला घटनाक्रमले संसदलाई जीवन्त बनाउन चुनौती थपेको बताउनुभयो ।
उहाँले ठूलाठूला बहसपछि संसदले गति लिन थालेको भन्दै अब जनताको अपेक्षा अनुसार काम गर्ने विश्वास दिलाउनुभयो । गत पुस ५ गतेदेखि फागुन ११ गतेसम्मका गतिविधि र बहसले राष्ट्रियतालाई थप बलियो बनाएको उहाँको दाबी छ । ‘अहिले हामी एउटा महान् बहसको प्रक्रियाबाट गुज्रिएर यहाँसम्म आइपुगेका छौं । पहिला पहिला भनिने गर्थ्यो समुद्र मन्थन, यसैगरी हामीले एउटा समुद्र मन्थन जस्तै गरी धेरै ठूलो बहस ग¥यौ,’ उहाँले भन्नुभयो, ‘त्यो बहसको बीचबाट फेरि नेपालीहरुले पहलकदमी लिए र सफलता पनि हासिल गर्दैछन् ।’
संसदमा जनअपेक्षा अनुसार काम नभएको पनि सभामुख सापकोटाले स्वीकार गर्नुभयो। ‘अहिले अलिकति अपेक्षाकृत ढङ्गले संसदले सिङ्गो राष्ट्रको, जनताको अपेक्षा पूरा गर्ने काममा प्रभावकारी भूमिका खेल्न सकेको छैन कि भन्ने खालको अथवा अलिकति सभामुखले पहलकदमी बढाउनुपर्छ भन्ने सुझाव भित्र, बाहिर, सबैतिरबाट तपाईहरुले उठाउनुभएको छ त्यसलाई म उच्च सम्मान गर्छु,’ उहाँले भन्नुभयो । राष्ट्रियताको सवालमा संसदले अद्भुत एकता प्रदर्शन गरेको र ठूलाठूला समस्याहरुको समाधान गरेको पनि उहाँको भनाइ छ

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।