वैदेशिक रोजगार व्यावसायीको सय संख्याको समस्या प्रधानमन्त्रीसमक्ष पेश



काठमाडौं । नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघले वैदेशिक रोजगार व्यवसायीहरुले अनिवार्यरुपमा वार्षिक एक सय जना कामदार वैदेशिक रोजगारमा पठाउनुपर्ने वैदेशिक रोजगार ऐन २०६४ को व्यवस्था परिवर्तनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको गम्भीर ध्यानाकर्षण गराएको छ । टोलीले शुक्रबार बिहान ११ बजे प्रधानमन्त्री ओलीसँग भेटेको हो ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघका पुर्व अध्यक्षसमेत रहेका महासंघका संयोजक तथा प्रतिनिधिसभा सदस्य लालप्रसाद (एलपी) साँवा लिम्बुको नेतृत्वमा महासंघको टोली प्रधानमन्त्री निवास गएको थियो । टोलीले कोरोना भाइरस (कोभिड–१९) को विश्वव्यापी महामारीका कारण रोजगार गन्तव्य मुलुकहरुबाट नेपाली कामदारहरुका लागि मागपत्र नआएकाले वैदेशिक रोजगार व्यवसाय बन्द सरह नै रहेका कारण गत वर्ष जस्तै यो वर्ष पनि अधिकांश म्यानपावर कम्पनीले वार्षिक रुपमा एक सय जना कामदार पठाउन नसकेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका छन् ।

टोलीले सोही कारण अधिकांश वैदेशिक रोजगार व्यवसायीहरुको इजाजतपत्र नवीकरण गर्न समस्या रहेको भन्दै तत्काल समस्या समाधानको निम्ति प्रधानमन्त्रीसमक्ष अनुरोध गरिएको महासंघ प्रचार विभागका सचिव तथा संघका निवर्तमान अध्यक्ष रोहन गुरुङले मध्यान्ह राष्ट्रिय दैनिकलाई बताए ।

वैदेशिक रोजगार ऐन वैदेशिक रोजगार नियमावलीमा म्यानपावर कम्पनीको ईजाजत नवीकरण गर्न वार्षिक रुपमा सय जना कामदार पठाएको हुनुपर्ने प्रावधान छ । मन्त्रिपरिषद्को २०७७ असार २९ को बैठकले ऐन र नियमालीमा उल्लिखित व्यवस्था कार्यान्वयन गर्न बाधा परेको भन्दै लगातार दुई वर्षसम्म वार्षिक एक सय जना कामदार पठाउन नसकेका इजाजतपत्र प्राप्त संस्थाको इजाजतपत्र समेत आर्थिक वर्ष २०७७/०७८ को लागि नवीकरण गराउन आएमा नियमानुसार नवीकरण गरिदिई नवीकरण भएका इजाजतपत्र प्राप्त संस्थाको आर्थिक वर्ष २०७८/०७९ का लागि नवीकरण गर्दा त्यस्ता संस्थाले आर्थिक वर्ष २०७६/०७७ देखि वि.सं २०७८ साल असार मसान्त भित्रमा कुल दुई सय जना कामदार पठाएको हुनुपर्ने शर्त राखी वाधा अड्काउ फुकाउने निर्णय गरेको थियो । हाल कोभिडको अवस्था यथावत रहेको भन्दै व्यवसायीहरुले ऐन र नियमावलीको उक्त व्यवस्था खारेज नै गर्न माग गरेका छन् ।

महासंघमा नेकपा एमाले पार्टीमा आवद्ध वैदेशिक रोजगार व्यवसायीहरुको संस्था प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल, नेपाल निर्माण व्यवसायी संगठन, पर्यटन व्यवसायी संगठन नेपाल, नेपाल राष्ट्रिय वाणिज्य संघ, निर्माण सामग्री सम्बद्ध व्यवसायी संघ नेपाल, नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठन, नेपाल लोकतान्त्रिक यातायात व्यवसायी संगठन , नेपाल होटेल तथा रेस्टुरेन्ट व्यवसायी संघ, नेपाल उद्योग संघ, नेपाल निर्माण उद्योग परिषद, नेपाल स्वास्थ्य उद्यमी संघसहित एघार संघ संगठन महासंघमा सदस्य रहेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्