बाँके। नेपाल पत्रकार महासंघ बाँके शाखामा ताला लगाइएको छ। नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयले अवैध र राजनीतिक पूर्वाग्राही ढंगले सदस्यता वितरण गरेको भन्दै प्रेस चौतारी नेपाल, बाँकेले नेपाल पत्रकार महासंघ, बाँकेमा तालाबन्दी गरेको हो।
यही चैत २५ मा हुने निर्वाचनका लागि जारी गरिएको मतदाता नामावलीमा बाँके जिल्लामा गैरपत्रकारको नामावली संलग्न गरी नाम सार्वजनिक गरेपछि प्रेस चौतारी बाँकेले आइतबार महासंघ बाँकेमा तालाबन्दी गरेको प्रेस चौतारीका अध्यक्ष हेमन्त विकले बताए।
चौतारीका अध्यक्ष बिकको नेतृत्वमा महासंघ बाँकेका संस्थापक अध्यक्ष लियाकत अली, प्रेस चौतारीका पूर्व केन्द्रीय उपाध्यक्ष शिव डोटेल, अग्रज पत्रकार जे पाण्डे, पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष रुद्र सुवेदीलगायतका पत्रकारले तालाबन्दी गरेको चौतारी, बाँकेका सचिव कमल डाँगीले बताए।
नयाँ सदस्य थप गर्ने विषयमा शाखाको सिफारिस कार्यान्वयन हुनुपर्ने, पुराना सदस्यलाई हटाउने कुकार्य तत्काल सच्याउनु पर्ने र सदस्यता सरुवा गरिएकोमा शाखाको अनिवार्य स्वीकृति हुनुपर्नेलगायतका सवालमा सुनुवाई नभए यस शाखाको निर्वाचन कुनैपनि अवस्थामा अगाडि बढ्न नदिने चौतारीले स्पष्ट पारेको छ।
महासंघ बाँकेले निर्णय गरी पठाएको नयाँ सदस्यता केन्द्रबाट नआउँदासम्म निर्वाचनको सम्पूर्ण कार्यक्रम अगाडि बढ्न नदिने चौतारीले चेतावनी दिएको छ। महासंघले पठाएका नयाँ सदस्यहरुको सूचीमा क्रियाशील पत्रकारको नाम समेत छुटेको चौतारीले जनाएको छ।
महासंघ केन्द्रले सदस्यता वितरणमा विभेद गरेको बताउँदै उक्त कार्यप्रति पूर्ण विमती जनाउँदै घोर आपत्ति जनाएको छ। प्रक्रिया विपरीत नयाँ सदस्य थप गरिएको र अन्यत्रबाट सरुवा गरिएको घटनाले तत्काल नसच्याउँदासम्म निर्वाचन प्रकृया अगाडि नबढाउन महासंघ बाँके शाखासँग माग गरेको छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।