काठमाण्डूको वायु प्रदूषण मापदण्डभन्दा पाँचगुणा खराब



काठमाण्डूको वायु प्रदूषण मापदण्डभन्दा पाँचगुणा खराब भएको छ । उपत्यकाभित्र आकाशै ढाक्नेगरी तुवाँलो लाग्नुका विभिन्न कारणहरू छन्।  वायु प्रदूषण धूमपानभन्दा खतरनाक बनेको स्वास्थ्यकर्मीहरुको भनाई छ । एउटा कारण यस पटक हिउँदमा वर्षा नहुनु र वायुमण्डलमा धुवाँ तथा धूलोको मात्रा बढी हुनु भएको वातावरण विभागको प्रदूषण नियमन तथा नियन्त्रण शाखाका प्रमुख शङ्करप्रसाद पौडेलले बताए।

काठमाण्डू उपत्यकामा वायु प्रदूषण

पछिल्लो समय तराईतिर लागेको डढेलोबाट निस्किएको धुवाँ भैँसेपाटी क्षेत्र हुँदै उपत्यका प्रवेश गरेको छ। तुवाँलो लाग्नुका अन्य कारणबारे उनले भने, चैतको हावाहुरी चल्ने समयमा काठमाण्डूमा हावा ठप्पजस्तो बसेको छ।  पानी नपर्ने र हावा नचल्ने कारणले यस्तो भएको हो। उनका अनुसार उपत्यकामा अहिले देखिएको अवस्था एकाएक उत्पन्न भएको भने होइन। केही दिनदेखि वायुमण्डलमा रहेको प्रदूषणको मात्रा उच्चबिन्दुमा पुगेकाले अहिलेको अवस्था आएको पौडेलको भनाइ छ। यस वर्ष नेपालको वन क्षेत्रमा लागेको डढेलो एक दशकयताकै उच्च भएको वन तथा भूसंरक्षण विभागका उपसचिव तथा डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले बताएका छन्।

तुवाँलो लाग्नुका अन्य कारणबारे उनले भने, चैतको हावाहुरी चल्ने समयमा काठमाण्डूमा हावा ठप्पजस्तो बसेको छ। नेपालमा सामान्यतया चैत्रदेखि जेठसम्म बढी आगलागी हुने गर्छ। सातादिनमा एक पटक पनि पानी नपरे आगामी दुई महिनासम्म आगलागीको जोखिम उत्तिकै हुने भएकोले जङ्गलनजिकै भएका बस्तीहरू थप सचेत बन्नुपर्ने उनले बताए।  विभागको अनुगमन प्रणालीका अनुसार शुक्रवार ४७ जिल्लाका झन्डै ५०० स्थानमा डढेलो लागेको थियो।जल तथा मौसम विज्ञान विभागका अधिकारीका अनुसार शनिवार पनि मौसममा खासै सुधार आएको छैन। विभागको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गङ्गा नगरकोटीका अनुसार शनिवार पनि उपत्यकाको वायुमण्डल स्थिर रहेको छ। हावाको गति स्थिर रहेकाले भिजिबिलिटीको अवस्था तीन दिन देखि आज पनि उस्तै छ, उनले भनिन्, यो तुँवालो हट्नका लागि कि हावाको गति बढ्नुपर्छ कि त वर्षा नै हुनुपर्छ।

विभागका अनुसार उपत्यकामा अझै दुई दिनसम्म यस्तै अवस्था रहन सक्ने देखिन्छ। त्यसपछि पश्चिमी वायुको प्रभाव केही मात्रामा देखिने भए पनि त्यसले वर्षा गराउने सम्भावना न्यून रहेकाले पूर्ण रूपमा तुँवालो हट्न अझै केही दिन लाग्न सक्छ।अहिलेको तुँवालो लाग्नुको एउटा कारण नेपालको दक्षिणी भेगमा लागेको डढेलो भए पनि त्यसबाहेकका कारणबारे अध्ययन नै गर्नुपर्ने मौसमविद् नगरकोटीले बताइन्।

यो प्रदूषणले स्वास्थ्यमा पर्ने असरहरु  

छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकालका अनुसार उपत्यकामा अहिले देखिएको प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका हिसाबले हेर्ने हो भने निकै खराब तहको रहेको छ। त्यसले गर्दा विशेषगरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढाएको उनले बताए।

डा. ढकालले भने, यो प्रदूषणले स्वस्थ मानिसलाई माथिल्लो श्वासनलीमा हुने सङ्क्रमण हुने जोखिम धेरै हुन्छ। स्वस्थ व्यक्तिलाई पनि प्रदूषणका कारण हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने तथा छातीमा सङ्क्रमण हुनसक्ने ढकालले बताए। तर श्वासप्रश्वाससम्बन्धी रोगीलाई त यसले निकै गाह्रो पार्न सक्छ। उनका भनाइमा वायु प्रदूषण बढेसँगै वायुमण्डलमा भाइरसको मात्रा विस्तार हुने क्रम पनि धेरै हुने भएकाले भाइरल सङ्क्रमणको जोखिम पहिलेभन्दा निकै बढ्छ।यसले फोक्सोका दीर्घरोगीलाई त निकै गाह्रो बनाउँछ नै, दमलगायतका रोग भएका मानिसहरूले पनि विशेष सतर्कता अपनाउनुपर्छ, उनले भने।

के भन्छ सरकार  ?

वायु प्रदूषण बढेपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रवार सबैलाई सावधानी अपनाउन आग्रह गरेको थियो। मन्त्रालयले वक्तव्य जारी गर्दै सर्वसाधारणलाई स्वास्थ्यको ख्याल गर्न, घरबाहिर ननिस्किन, अनावश्यक रूपमा सवारीसाधन नचलाउन, फोहोर नचलाउन र धूलो र धुवाँ उत्पन्न हुनेखालका निर्माण कार्य नगर्न आग्रह गरेको छ।चिकित्सकहरूका अनुसार काठमाण्डू उपत्यकामा अहिले देखिएको प्रदूषणका कारण सावधानी नअपनाएमा मानव स्वास्थ्यमा गम्भीर खालका असरहरू पनि पर्न सक्छन्।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्