केहि दिनमा नेपाल फर्कने टिकट लिएका गगन आखिर अस्ताए कोरियामै



कमल बिक्रम जिसी , काठमाडाैं । इपिएस प्रक्रियामार्फत रोजगारीका लागि दक्षिण कोरिया पुगेका  सुर्खेत, चौकुने–४ बिजौराका गगन रावलको सोमबार राति निधन भएको छ ।

दक्षिण कोरियाको एजुसी भन्ने ठाउँमा कार्यरत गगन पहिलो कार्यकालको चार वर्ष १० महिना अवधि पूरा गरी अबको नौ दिनपछि नेपाल फर्किने टिकटसमेत काटेर तयारी अवस्थामा थिए । एउटै कोठामा बस्ने नेपाली सहकर्मीका अनुसार गगन सोमबार दिउँसो कम्पनीमा राम्रै काम गरी सुतेका थिए । राति कोरियाली समयअनुसार करिब २ः३० बजे उनी एक्कासि ठूलो आवाजले चिच्याएका थिए ।

उक्त आवाज सुनेर ब्युँझिएका सहकर्मीले हेर्दा उनी बेहोस अवस्थामा थिए । तत्काल कम्पनी साहुलाई जानकारी गराई एम्बुलेन्समार्फत नजिकैको अस्पताल पुर्याइएका उनलाई अस्पतालले मृत घोषणा गरेको थियो । हाल उनको शव परीक्षणका लागि अस्पतालमा राखिएको छ । घटनाको बारेमा घरपरिवार तथा राजदूतावासमा जानकारी गराइसकिएको र शवलाई केही दिनमै नेपाल पठाउने तयारी रहेको छ ।

घटनाको प्रकृति हेर्दा हृदयाघात भएको हुनसक्ने सुर्खेत समाज दक्षिण कोरियाका पूर्वअध्यक्ष लोकेश खत्रीले बताए । गगन सुर्खेत समाज दक्षिण कोरियाका पूर्वसदस्यसमेत रहेका थिए । अविवाहित गगनको परिवारमा बाबा आमा र एक बहिनी छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्