म्यानमारमा सैन्य कू विरुद्ध जारी आन्दोलनका क्रममा ४० भन्दा बढी बालबालिकाको मृत्यु भएको छ । बालबालिकाका लागि काम गर्दै आएको अन्तर्राष्ट्रिय संस्था सेभ द चिल्ड्रेनका अनुसार गत फेब्रुअरी १ मा सेनाले कू गर्दै शत्ता हत्याएपछि जारी प्रदर्शनका क्रममा परेर हालसम्म ४३ जना बालबालिकाको ज्यान गएको हो ।
पछिल्लो पटक सेनाको गोली लागेर ७ वर्षीया बालिकाको मृत्यु भएको थियो । यसअघि नै संयुक्त राष्ट्रसंघका लागि म्यानमारका दूतले म्यानमारमा भयानक रक्तपातको खतरा औँल्याउनुभएको थियो । प्रत्यक्षदर्शीले सेनाले बाटोमा अन्धाधुन्ध गोली चलाउने गरेको र केही मानिसलाई घरमै गएर हत्या गर्ने गरेको बताएका छन् । जारी प्रदर्शनका क्रममा हालसम्म म्यानमारमा ५ सय ३६ जनाको ज्यान गइसकेको छ । सयौं घाइते भएका छन् ।
सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गर्दा सेनाको विरोधमा भइरहेका प्रदर्शनमा सहभागी आन्दोलनकारीमध्ये कयौंको मृत्यु भइसकेको छ । सुरक्षाकर्मीको दमनका कारण घाइते हुनेहरुको सङ्ख्या पनि बढिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
तर स्थानीयहरुले भने मृत्यु हुने बालबालिकाको सङ्ख्या ५ सय ३६ रहेको दाबी गरेका छन् ।यसैबीच सैनिक सरकारले म्यानमारकी नेतृ आङ साङ सूची र उहाँका चार जना सहयोगीलाई विभिन्न मुद्दा लगाएको छ ।उक्त मुद्दामा १४ वर्षसम्मको जेल सजाय हुने म्यानमारका अधिकारीहरुले जनाएका छन् ।
सूचीमाथि गत वर्षको निर्वाचनमा धाँधली गरेको र गैरकानुनीरुपमा सञ्चार सेटहरु राखेको लगायतका आरोप लगाइएको छ ।
जारी हिंसा कम नभएको भन्दै म्यानमारको सैनिक नेतृत्वको सर्वत्र आलोचना भइरहेको छ ।म्यानमारका लागि संयुक्त राष्ट्रसंघका राजदूतले प्रजातन्त्रको पक्षमा भएको आन्दोलनमा भएको दमन निन्दनीय भएको प्रतिक्रिया दिनुभएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।