Banner First

करिब तिन दशक पछि मेलम्ची खानेपानी आयोजनाको सफलता

By Thah Online

April 02, 2021

कमल बिक्रम जिसी , काठमाडौं। काठमाडौं उपत्यकाको पानीको स्रोतका रूपमा पहिचान गरेको ३२ वर्षपछि मेलम्चीको पानी काठमाडौंमा आएको छ। २२ वर्ष पुरानो योजना पूरा भएपछि काठमाडौंका धारामा मेलम्चीको पानी आएको हो। आधा शताब्दी पुरानो काठमाडौं उपत्यकाको मेलम्ची सपनाले पूर्णता पाएको छ। उपत्यकामा खानेपानी समस्या हुन थालेपछि आजभन्दा ५० वर्षअघि विकल्पको खोजी सुरु भएको थियो।

बढ्दो शहरीकरणसँगै सन् १९७० को दशकदेखि उपत्यकामा खानेपानीको समस्या देखियो। उपत्यकामा भूमिगत पानी सुक्दै थियो। त्यसपछि वैकल्पिक स्रोत खोज्न थालियो। उपत्यकामा खानेपानी आपूर्तिलाई सहज तुल्याउने प्रयास स्वरुप एकमात्र विकल्पको रूपमा मेलम्ची खानेपानी आयोजनाको अवधारणा अगाडि आयो। त्यसक्रममा मेलम्चीको पानी राजधानी ल्याउँछु भनेर उद्घोष गर्ने पहिलो व्यक्ति थिए कृष्णप्रसाद भट्टराई।

२०४८ सालको आम निर्वाचनमा नेता भट्टराई काठमाडौं-१ बाट उम्मेदवार थिए। चुनावी प्रचारप्रसारका क्रममा खानेपानी समस्या बेहोरिरहेका मतदातालाई आफूतिर तान्न उनले ‘मेलम्ची ल्याएर राजधानी पखाल्छु’ भन्ने नारा अघि सारे। ठट्यौला भट्टराईको यो नारालाई धेरैले ठट्टाकै रूपमा लिए। यद्यपि त्यसपछिका हरेक निर्वाचनमा मेलम्चीको पानी प्रत्येक राजनीतिक दलको चुनावी एजेण्डा जस्तै बन्यो।

पानीको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सन् १९७२ मा विश्व बैंकको सहयोगमा अध्ययन गरिएको थियो। यही क्रममा ०४१ मा परामर्शदाता कम्पनी ‘बिन्नी एन्ड पार्टनर्स’ले विभिन्न २२ उपाय सुझाएको थियो। त्यसमध्ये प्राथमिकताको पहिलो सूचीमा थियो- मेलम्ची, याङ्ग्री र लार्केको पानी ल्याउने थियो। तर, त्यसपछि करिब एक दशक यस विषयमा कुनै प्रगति भएन। राजनीतिक भाषणमा वेलावेला चर्चा भए पनि ठोस पहल भएन।

यो परियोजनाका लागि पूँजी जुटाउने योजनासहित ०५३ मा मेलम्ची खानेपानी लिमिटेड स्थापना भयो। लागत धेरै हुने भएकाले अन्तर्राष्ट्रिय सहयोग जुटाउन एडिबी, जाइका, ओपेक, नर्वे र स्विडेनलगायतका दातासँग प्रस्ताव गरिएको थियो। उनीहरूबाट सकारात्मक जवाफ पनि आएको थियो। त्यसैले पहिले निजी क्षेत्रबाट पनि पूँजी जुटाउने भनेर लिमिटेड गठन भएकोमा अन्तर्राष्ट्रिय दातृ निकायको सहयोग जुटाउन ०५५ मा मेलम्ची खानेपानी विकास समिति गठन भयो।

समितिको पहल, नर्वे सरकारको आर्थिक अनुदान तथा एडिबीको इन्जिनियरिङ सहायतामा सम्भाव्यता र डिजाइनका काम सुरु भए। यो वस्तुगत अध्ययनबाट थाहा भयो- मेलम्ची खोलाबाट मात्र दैनिक १७ करोड लिटर पानी ल्याउन सकिन्छ। तर, फेरि आयोजना निर्माण सुरु हुन नै करिब एक दशक लाग्यो।

समिति गठन भएको तीन वर्षपछि ०५८ मा एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा मेलम्चीको निर्माण सुरु गर्ने तयारी भएको थियो। सात वर्षभित्र काम सक्ने लक्ष्य राखिएको थियो। तर, सरकारले एडिबीको ऋण सर्तका विषयमा विवाद हुँदा काम नै सुरु हुन सकेन। सरकारले ऋण सर्त पालना गर्ने निश्चित भएपछि ०६४ मा निर्माण सुरु भएको हो। एडिबीले ०७० सम्म काठमाडौंमा खानेपानी आइपुग्नुपर्ने लक्ष्य दिएको थियो। ठेक्काको सर्त पनि त्यही थियो।

२७ किलोमिटर सुरुङमार्ग निर्माणका लागि ०६४ मै ग्लोबल टेन्डर आह्वान गरियो। चाइना रेल्वे कन्स्ट्रक्सन कर्पोरेसन (सिआरसी) नामक चिनियाँ कम्पनीले चार वर्षभित्र बनाइसक्ने गरी सुरुङमार्गको ठेक्का पायो। तर, तीन वर्षमा जम्मा १५ प्रतिशत मात्रै काम गर्‍यो। एक वर्षभित्र बाँकी ८५ प्रतिशत काम सक्ने अवस्था नदेखिएपछि सिआरसीसँग सोही वर्ष ठेक्का सम्झौता तोडिएको हो।

०७० असारमा पुनः ग्लोबल टेन्डर आह्वान गरियो र इटालियन कम्पनी सिएमसीले ठेक्का पायो। ठेक्काअनुसार ०७३ मा काम सक्नुपर्ने थियो, तर भूकम्प र नाकाबन्दीका कारण परियोजना प्रभावित भयो। तसर्थ सिएमसीको म्याद थप भइरह्यो। अन्तिम म्यादअनुसार ३ फागुन ०७५ मा सिएमसीले काम सक्नुपर्ने थियो। काम अब १० प्रतिशतभन्दा पनि कम बाँकी छ भनिएको थियो। तर, इटालीमा नै चरम आर्थिक संकटमा परेको कम्पनीका प्रतिनिधि २९ मंसिर ०७५ मा काम छाडेर हिँडे। २४ माघ ०७५ मा ठेक्का सम्झौता रद्द भयो।

यद्यपि आयोजनाको निर्माण सुरु भएको १२ वर्षपछि पानी उपत्यकामा आएको छ। खासमा ०५५ मा मेलम्ची निर्माणको पहल सुरु भएयता २२ वर्षमा देशले १९ प्रधानमन्त्री र २५ मन्त्री पाएको छ। अझ आयोजना प्रमुख त २९ पटक फेरिएका छन्। बल्ल राजधानीको धारामा मेलम्चीको पानी आएको छ। कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले नेता भट्टराईले मेलम्चीको पानी ल्याउने उद्घोष गरेको परियोजना अन्तत: आजको समयमा साकार हुन पुगेकोमा खुशि व्यक्त गरेका छन्। उनले शुक्रबार एक विज्ञप्ति जारी गरेर मेलम्चीको पानी काठमाडौंमा आएपछि उपत्यकाबासीलाई बधाई पनि दिएका छन्।

आधा शताब्दी पुरानो मेलम्ची सपनाको पुरा हुनेक्रममा उक्त आयोजनाको उद्घाटन गर्ने अवसर भने नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले पाएको छ। १९ प्रधानमन्त्री र २५ मन्त्रीहरुको निरन्तरको प्रयासबाट सफल बनेको मेलम्ची खानेपानी आयोजनाको जस भने ओली नेतृत्वको सरकारले लिन खोजेको छ। मेलम्ची उद्घाटनमा पूर्वमन्त्रीहरुलाई समेत बोलाइएको छैन। समाजवादी जनता पार्टीका अध्यक्ष एवं पूर्व खानेपानी मन्त्री प्रेमबहादुर सिंहले मेलम्चीको आयोजना निर्माणमा पूर्वसरकारहरुको योगदान र भूमिका ठूलो रहेको बताए।

राष्ट्रको महत्त्वाकांक्षी आयोजना मेलम्चीको उद्घाटनप्रति उनको असहमति राखेका छन्। आयोजना निर्माणमा विभिन्न सरकारको योगदान रहेकोले उनीहरूको स्मरण पनि आज हुनुपर्ने उनको भनाई छ। यद्यपि आयोजना भएको प्रति उनले खुसी व्यक्त गरे। ‘नेपालमा खानेपानी मन्त्रालय स्थापना भएपछि पहिलो पटक म मन्त्री भएको थिएँ। त्यति बेला आयोजनाको काम थप्प अवस्थामा थियो। भूकम्पपछि पूर्ण रूपमा काम थप्प अवस्थामा थियो,’ पूर्वखानेपानी मन्त्री सिंहले भने, ‘त्यसको ८/१० महिनामा आधा भन्दा बढी काम सम्पन्न थियो। तर पछिल्लो समय विभिन्न कारणले काम ढिला भयो। आयोजनामा विभिन्न सरकारको आ-आफ्नो समयमा योगदान छ। यो आयोजना सम्पन्न हुनु खुसीको कुरा हो।’

उनले अगाडि थपे, ‘सबै सरकारको, सबै पार्टीको आ-आफ्नो योगदान रहेको छ। यो आयोजना सम्मपन गर्नुपर्छ भन्ने प्रयत्न सबैको रह्यो। कसैको पालामा बढी काम भयो होला। कसैको पालामा कम। यो राष्ट्रको योजना हो। सबैको राष्ट्रिय योगदान रह्यो। यस्तो खुसीयालीमा सर्वपक्षीय कार्यक्रमको आयोजना गरिनुपर्थ्यो। खानेपानी आयोजना समावेशपूर्ण आयोजना पनि हो। यसमा समावेशीकरणको ठुलो अर्थ रहन्छ। यसमा सबैलाई बोलाइदिँदा राम्रो हुन्थ्यो। यद्यपि आयोजना सम्पन्न गरेकोमा वर्तमान सरकारलाई धन्यवाद छ। तर मेलम्ची खानेपानी आयोजनामा सबै सरकारको प्रयत्न रहेको छ। सबैको निरन्तरता रहेको छ।’

सरकारले राष्ट्रको गौरवको आयोजना सम्पन्न भएको खुसीयालीमा पूर्व मन्त्री र प्रधानमन्त्रीलाई समेत समेट व्यवस्थित कार्यक्रमको आयोजना गरिएको भए सबैको योगदानको मूल्यांकन हुने अपेक्षा उनको थियो। ‘लामो समय सम्म यस आयोजनाबारे चर्चा भइरह्यो। सुरुवातको समयमा काठमाडौंमा कहाँबाट खानेपानी ल्याउने भन्ने चर्चा रह्यो। स्रोत पहिचानका कुराहरू भए, अध्ययन गर्ने कुरा भए,’ उनले भने, ‘त्यो अध्ययन नभइदिएको भए, स्रोतको पहिचान नगरिदिएको भए अहिले यो योजना बन्यो र ? पक्कै पनि बन्दैन थियो। योजनालाई स्वीकृत गर्ने कुरा, लगानीका कुराहरू भए यी कुनै सरकारका पालामा सुरुवात भए। सबैका प्रयत्न स्वरूप अहिले यो आयोजना सम्पन्न भएको हो।’

पूर्व खानेपानी मन्त्री सिंहले प्रधानमन्त्री केपी शर्मा ओलीले खानेपानी र सरसफाइको क्षेत्रमा जोड दिनु सकारात्मक विषय भएको बताए। ओली पहिलो पटक प्रधानमन्त्री हुँदा छुट्टै खानेपानी तथा सरसफाइ मन्त्रालयको स्थापना गरेर यस क्षेत्रलाई विशेष जोड दिएकोले उनको प्रशंसा पनि गरे। यद्यपि मेलम्ची खानेपानी आयोजनाको जस ओली एक्लैले भने नपाउने उनको भनाई थियो। अरू सरकारले आयोजनालाई अगाडि बढाएर आधाभन्दा बढी काम नगरेको भए ओलीलाई मेलम्ची खानेपानी आयोजनाको उद्घाटन गर्ने अवसर नजुर्ने उनले बताए।