दुर्घटना

यातायात समितिको विषयमा विवाद हुँदा जाजरकोटमा एक युवाको मृत्यु

By Thah Online

April 03, 2021

काठमाडौँ । यातायात समितिमा आवद्ध यूवाहरु बीच भएको विवादका कारण झडप हुँदा एक युवाको मृत्यु भएको छ । नलगाड नगरपालिका ४ जाजरकोटका ३५ वर्षीय नरेश रावलको बारेकोट गाउँपालिका २ देउल स्थित खोलामा शुक्रबार दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ ।

नलगाड ४ का सुजन कार्की र विकास रावल भने घाइते भएका छन् । जाजरकोट डोल्पा यातायात समितिका युवाहरुबीच विवादपछि झडप भएको थियो । घटनामा संलग्न १० जनालाई प्रहरीले पक्राउ गरी सदरमुकाम खलंगा ल्याउँदै गरेको जाजरकोटका डिएसपी मधु थापाले जानकारी दिएका छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।