ताइवानमा भएको रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएको छ । यो दुर्घटनालाई ताइवानको इतिहासमा सबैभन्दा ठूलो दुर्घटना मानिएको छ । दुर्घटनापछि देशभर शनिबार शोक मनाइएको छ । मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झन्डा आधा झुकाइएको छ ।
खोज तथा उद्धार टोलीहरु रेलका क्षतिग्रस्त डब्बाहरु बाहिर निकाल्न जुटेका छन् । अधिकारीहरुले शुक्रबारको रेल दुर्घटना एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि भएको बताएका छन् । छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा बढी मानिस सवार थिए ।
तीव्र गतिमा दौडिरहेको रेल एउटा साँघुरो सुरुङभित्र प्रवेश गर्नै लाग्दा ट्रकमा ठोक्किएर आफ्नो लिकबाट उछिट्टिएको थियो । पार्किङ ब्रेक राम्रोसँग नलगाएको आरोपमा पक्राउ परेका ट्रक ड्राइभरलाई प्रहरीले सोधपुछ गरी जमानतमा छाडेको छ ।
उद्धारकर्ताहरुले सुरुङभित्रको अवस्था दयनीय रहेको र रेलको अग्रभागका साथै डब्बाहरु कच्याककुचुक भएको पाएका थिए । ‘तीमध्ये अगाडिको आठ नम्बरको डब्बामा सबैभन्दा बढी क्षति पुगेको थियो र यही डब्बामा सबैभन्दा बढी व्यक्तिको ज्यान गएको थियो,’ उद्धारकर्मी चाङ जि–चेनले बताए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।