पद्मोदयमा माविमा क्रान्तिकारीको इकाई समिति गठन, अध्यक्षमा रिजाल



घोराही । दाङको घोराहीमा रहेको पद्मोदय पब्लिक नमूना मावि भरतपुरमा अखिल क्रान्तिकारीको मूल इकाई समितिको सम्मेलन सम्पन्न सकिएको छ । समान, निशुल्क, सर्वसुलभ, व्यवहारिक र वैज्ञानिक शिक्षा प्राप्तिको निम्ति संघर्ष गरौं, शिक्षा क्षेत्रमा देखिएको विकृति, विसंगति, दलालिकरण, भ्रष्टीकरण र व्यापारीकरणको अन्त्य गर्न अघि बढौं भन्ने मूल नारा सहित सो संगठनको प्रथम सम्मेलन सम्पन्न भएको हो ।

क्रान्तिकारीका पद्मोदय नमूना माविका पूर्वसंयोजक सशांक सुवेदीको अध्यक्षतामा भएको सम्मेलनको प्रमुख आतिथिमा क्रान्तिकारीका दाङ जिल्ला संयोजक अनिल केसीले थिए । कार्यक्रममा अखिल क्रान्तिकारी दाङ जिल्ला सचिव खुमन पौडेल, सहसचिव सरद खत्री, अखिल क्रान्तिकारी दाङ जिल्ला सदस्यहरु दिपक केसी, भरत परियार, चुडामणि दाहाल, हिमाल केसी, अखिल क्रान्तिकारी रझेना मावि इकाई समिति संयोजक नवीन पौडेल पनि अतिथिकारुपमा सहभागी थिए ।

प्रथम सम्मेलनलाई सम्बोधन गर्दै प्रमुख अतिथि केसिले शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगति, विभेद, व्यापारीकरण, दलालिकरणलाई निर्मूल गर्न सबै विद्यार्थी एकजुट हुनुपर्ने बताए । उनले संविधानमा माध्यमिक शिक्षा निशुल्क र अनिवार्य भनेर लेखिएको भएपनि आज सम्म कार्यान्वयन हुन नसक्नु दुःखद भएको बताए ।

सामुदायिक विद्यालयमा अहिले पनि निजि विद्यालय सरह मनोमानी शुल्क ल्याएर श्रमजीवी जनताका छोराछोरीलाई हैरानी बनाइरहेको भन्दै यस्ता अवैध रुपमा शुल्क ल्याउने शैक्षिक संस्था विरुद्ध निर्मम भएर जानु पर्ने बेला आएको बताए । साथै केसीले विद्यालय भित्र देखिएका सबै समस्याहरुलाई उजागर गर्दै विद्यालय प्रशासन समक्ष आफ्ना मागहरु निरन्तर राखिरहन अनुरोध गरे ।

विद्यार्थी समाजको सचेत वर्ग भएकाले अध्ययन सँगसँगै राजनीतिक, सामाजिक, साँस्कृतिक कुराहरु पनि अध्ययन गर्न सुझाव दिंदै यो संसदीय व्यवस्थाबाट विद्यार्थीहरुका मुद्धा, एजेन्डा, अधिकार प्राप्त गर्न सम्भव नभएकोले अब एकपटक सबै विद्यार्थीहरु यो पुँजीवादी संसदीय व्यवस्था खारेज गरेर जनताको वैज्ञानिक समाजवादी राज्य व्यवस्था स्थापना गर्ने महान यात्रामा लावद्ध हुनुपर्ने बेला आएको बताए ।

केसीले नवनिर्वाचित कमिटीलाई सफल कार्यकालको बधाई शुभकामना दिए । संगठनको मूल्य, मान्यता, अनुशासनलाई कायम राख्दै निरन्तर आफ्नो अधिकारको निम्ति अध्ययन सँगसँगै संघर्ष गर्न पनि विद्यार्थीहरुलाई अनुरोध गरे । सम्मेलनले खुम रिजालको अध्यक्षतामा ४९ सदस्यीय मूल इकाई कमिटी निर्वाचित गरेको छ ।

सम्मेलनले विभिन्न विभागहरु पनि गठन गरिएको अध्यक्ष खुम रिजालले जानकारी दिए । अध्यक्ष रिजालका अनुसार छात्रा विभाग संयोजक बिमला नेपाली र सहसंयोजक पुष्पा योगी, स्वास्थ्य तथा सरसफाइ विभाग संयोजक बिपना थापा, सहसंयोजक लक्ष्मी बस्नेत सदस्य समिक्षा पाण्डे, क्रान्तिकारी विद्यार्थी स्वयंसेवक विभाग संयोजक दिपेस ऐरी, सहसंयोजक करण पुन रहेका छन् ।

खेलकुद तथा अतिरिक्त विभाग संयोजक दामोदर घर्ती र सहसंयोजक महेश बुढा, सदस्य बिन्दु लम्साल, हिमाल डाँगी रहेका छन् । त्यस्तै सम्मेलनले अनुशासन विभाग संयोजक भुमी थापा र सहसंयोजक निलम चौधरी, विज्ञान संकाय संयोजक अमृत बुढाथोकी सहसंयोजक पुष्पा योगीलाई जिम्मा दिएको छ । साथै व्यवस्थापन संकाय संयोजक प्रशान्त बुढा, सहसंयोजक बिपना थापा सदस्य समिक्षा पाण्डे रहेका छन् ।

यसैगरी शिक्षा संकाय संयोजक ललिता मगर र सहसंयोजकमा वर्षा बुढा निर्वाचित भएका छन् । पद्मोदय नमूना मावि भरतपुर दाङ साविकको राप्ती अञ्चलकै पुरानो र सबै भन्दा ठूलो सामुदायिक विद्यालय हो । जहाँ हाल करिब ६५०० (छ हजार पाँच सय) विद्यार्थी अध्ययन गरिरहेका छन् । पद्मोदय मावि मूल इकाइ समिति सदस्य तिलक खड्काको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण मूल इकाइ समिति संयोजक खुम रिजालले गरेका थिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्