दाङ, चैत्र २२ नेपाल पत्रकार महासंघ दाङ शाखाको आगामी कार्यकालका लागि हुन लागेको निर्वाचनमा ४२ जनाको उम्मेदवारी परेको छ । यही चैत २५ गते कुल २० पदका लागि हुने निर्वाचनमा ४२ जनाको उम्मेदवारी दर्ता भएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समिति संयोजक सुदीप गौतमका अनुसार जिल्लामा हुन लागेको निर्वाचनका लागि जिल्ला कार्यसमितिका लागि ४२ जना, प्रदेश परिषदका लागि ३४ जना तथा राष्ट्रिय परिषदका लागि १४ जनाको उम्मेदवारी परेको छ । जिल्लाबाट जिल्ला, प्रदेश र राष्ट्रिय परिषद गरी ४५ पदका लागि ९० जनाको उम्मेदवारी परेको उहाँले जानकारी दिनुभयो ।
दाङमा प्रेस चौतारी नेलालले नेतृत्व गरेको प्यानलबाट अध्यक्ष पदमा दुर्गालाल केसीले उम्मेदुवारी दिनुभएको छ भने प्रेस युनियनले नेतृत्व गरेको प्यानलबाट अध्यक्ष पदमा लक्ष्मी आचार्यले उम्मेदवारी दिनुभएको छ। आज दर्ता भएको उम्मेदुवारीमा प्रेस चौतारी नेपालले उपाध्यक्षमा ओपेन्द्र बस्नेत, महिला उपाध्यक्षमा रञ्जिता शर्मा अधिकारीलाई उम्मेदवार बनाएको छ । यस्तै, सचिवमा गोकर्ण पौडेल, खुला सह–सचिवमा दशरथ घिमिरे, समावेशी सह–सचिवमा दिप्तीशिखा चौधरीलाई उम्मेदवार बनाएको छ ।
यस्तै, चौतारीले कोषाध्यक्षमा प्रेमविवश घर्तीलाई उम्मेदवार बनाएको छ । कार्यसमिति सदस्यका लागि महिला सदस्यमा मिना बिश्वकर्मा, दलित सदस्यमा लक्ष्मण विश्वकर्मा, आदिवासी सदस्यका रुपमा नवीन चौधरी, मधेशी सदस्यमा सन्तोषकुमार गुप्ता र अन्य समावेशी सदस्यका रुपमा शिव घर्तीलाई उम्मेदवार बनाएको छ ।
यस्तै, प्रेस युनियनसँगै प्रेस संगठन लगायतको प्यानलले उपाध्यक्षमा सन्तोष सुवेदी, महिला उपाध्यक्षमा बसुन्धरा गौतम, सचिवमा आरके शीतल ‘रमेश केसी’, खुल्ला सह–सचिवमा दामोदर बस्नते ‘राकेश’ तथा समावेशी सह–सचिवमा देवी भण्डारीलाई उम्मेदवार बनाएको छ ।
यस्तै कोषाध्यक्ष पदका लागि शरद रेग्मी, महिला सदस्यमा उमा भण्डारी, दलित सदस्यमा गिरीराज नेपाली, आदिवासी सदस्यमा अञ्जना चौधरी, मधेशी सदस्यमा दुखहरण यादव तथा अन्य समावेशीमा विवेक खड्कालाई उम्मेदवार बनाएको छ । यस्तै, खुल्ला सदस्यमा ८ पदका लागि १८ जनाको उम्मेदवारी परेको संयोजक गौतमले जानकारी दिनुभयो । महासंघको जिल्ला कार्यसमितिका लागि खुला सदस्यमा स्वतन्त्र रुपमा पनि उम्मेदवारी परेको छ । दुई समुहबाट सबै पदमा उम्मेदवारी परेकाले चुनावमा निकै कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
जिल्लामा २० पद, प्रदेश परिषदका लागि १८ पद तथा राष्ट्रिय परिषदका लागि ७ पदका जिल्लामा उम्मेदवारी परेको छ । दाङमा जम्मा २ सय ७६ जना मतदाता रहेका छन् । आईतबार उम्मेदवारी दर्ता गराएकाहरु माथिको दावी विरोधको समय सोमबार दिउँसो साढे १२ बजेसम्म तोकिएको छ । तत्पश्चात अपरान्ह ४ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशनको समय रहेको संयोजक गौतमले बताउनुभयो ।
२५ गते हुने निर्वाचनमा यस पटक जिल्ला तहबाटै प्रदेश र केन्द्रका पदाधिकारी पनि छनौट गर्ने प्रावधान राखिएकाले साधारण सदस्यले पनि सिधै प्रदेश र केन्द्रका पदाधिकारीलाई भोट हाल्न पाउने भएका छन् । देशभरका कुल १३ हजार बढी मतदाता रहेको पत्रकार महासंघको निर्वाचन नजिकिएसँगै पत्रकारहरु आफ्नो पक्षमा मत माग्न व्यस्त भएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।