टप फिचर

मार्क जुकरबर्गसँगै ५३ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डेटा लिक

By Thah Online

April 04, 2021

काठमाडौं। हालै लो लेभल ह्याकिङ फोरममा ५३ करोडभन्दा बढी फेसबुक प्रयोगकर्ताको डेटा सार्वजनिक भएको समाचारले चर्चा पाइरहेको छ। यो घटनामा १०६ देशका फेसबुक प्रयोगकर्ताको फोन नम्बर, पुरा नाम, ठेगाना, ईमेल एड्रेस र बायोग्राफिकल इन्फर्मेशन लिक भएको छ।

एक साइबर सुरक्षा अनुसन्धानकर्मी डेभ वाकरले फेसबुकका सीईओ मार्क जुकरबर्गको डेटा पनि लिक भएको बताएका छन् । ट्वीटरमा एक ट्वीट गर्दै उनले लेखेका छन्, ‘बिडम्बनाको कुरा के छ भने याे लिकमा मार्क जुकरबर्गसमेत सामेल छन्।’

वाकरका अनुसार जुकरबर्गका अलावा फेसबुकका सह-संस्थापक क्रिस ह्युज र डस्टिन मोस्कोविजकाे व्यक्तिगत डेटा पनि लिक भएकाे छ। ब्रिटिश मिडिया द सनले पनि ५३ कराेड फेसबुक प्रयाेगकर्ताकाे डेटा लिक हुँदा मार्क जुकरबर्गकाे फाेन नम्बरसहितकाे डेटा पनि सामेल भएकाे समाचार लेखेकाे छ। साे समाचारअनुसार जुकरबर्गकाे नाम, ठेगाना, वैवाहिक विवरण, जन्म मिति र फेसबुक युजर आईडीसहितकाे डेटा लिक भएकाे छ।

यता बिजनेश इन्साइडरसँग कुराकानी गर्दै फेसबुकका प्रवक्ताले याे लिक घटना पुरानाे भएकाे प्रतिक्रिया दिएका छन् । ‘यो पुरानो डेटा लिक हो, जुन २०१९ मा भएको थियो । हामीले अगस्ट २०१९ मा यो इस्युको फिक्स गरिसकेका छौं,’ उनले भने ।

एकैपटक ५३ कराेडकाे विवरण लिक हुँदा सामाजिक सञ्जालमा फेसबुककाे सुरक्षा प्रणालीमाथि प्रश्न उठिरहेका छन् । साथै कतिपय सुरक्षा अनुसन्धानकर्मीहरूले डेटा लिकबाट साइबर अपराधीहरूले फाइदा लुट्नसक्ने चेतावनी दिएका छन् ।