अपराध

नेपाल राष्ट्र बैंककी निर्देशक दरबारमार्गबाट पक्राउ

By Saru Sunar

April 04, 2021

नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयकी एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले नेपाल राष्ट्र बैंककी निर्देशक सुष्मा रिमाल रेग्मीलाई आइतबार पक्राउ गरेको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

‘८४ वर्षीया जेष्ठ नागरिक आमाले उजुरी दिएपछि हामीले उनलाई पक्राउ गरेका हौं,’ एसएसपी सिंहले भने। उनलाई प्रहरीले दरबारमार्गबाट पक्राउ गरेको हो।

उनीविरूद्ध बृद्धा आमाले उजुरी दिएपछि प्रहरीले पक्राउ गरेको हो। उनीविरूद्ध जेष्ठ नागरिक ऐन अन्तर्गत जाहेरी परेको एसएसपी सिंहले बताए।

उनका अनुसार सुष्माले आफ्नी आमाको तीन करोड बढी सम्पत्ति लिएर हेरचाह नगरेको भन्ने जाहेरी परेपछि प्रहरीले पक्राउ गरेको हो।

‘उजुरी धेरै अगाडि परेको हो। बीचमा हामीले आफ्नो आमालाई हेर्नुपर्छ भनेर काउन्सेलिङ पनि गर्‍यौं। उनले अदालतबाट स्टे अर्डर लिएर आइन् त्यो पनि खारेज भयो त्यसपछि मुद्दा दर्ता भएर प्रहरीले पक्राउ गरेको हो,’ एसएसपी सिंहले भने।

उनीविरूद्ध अनुसन्धान गर्न प्रहरीले दुई दिन हिरासतमा राख्न अनुमति पनि पाइसकेको छ।