सैघाली खबर
धनकुटा , ६ माघ । धनकुटा — आफ्नै पार्टी नेतृत्वको सरकारले प्रदेश नं। १ को मुकाम धनकुटा नतोकेकोमा असन्तुष्टि जनाउँदै कांग्रेससँग सम्बद्ध रहेका जिल्ला कार्य समितिसहित सम्पूर्ण तहका पदाधिकारीले शनिवार संयुक्त राजीनामा दिएका छन् ।
कांग्रेस जिल्ला समितिले शनिवार अपरान्ह पत्रकार सम्मेलनमार्फत सबै तहका पदाधिकारीले संयुक्त राजीनामा दिएको जिल्ला सभापति अग्नीप्रसाद पौडेलले जानकारी दिए । जिल्ला, नगरपालिका तथा गाउँपालिकासहित जिल्लाका सबै निकायका पार्टी पदाधिकारीले आ–आफ्ना पदबाट राजीनामा दिइएको पौडेलले बताए ।
आयोजित पत्रकार सम्मेलनमा वितरीत प्रेस विज्ञप्तीमा राणाकालदेखि हालसम्म क्षेत्रिय सदरमुकामको रुपमा कायम रहेको धनकुटामा पर्याप्त भौतिक पूर्वाधार रहेपनि नेतृत्व तहले उपेक्षा गरेको उल्लेख गरिएको छ ।
प्रदेश १ का अधिकांश जिल्लासँग सडक सञ्जाल जोडिएको, सुरक्षा दृष्टिकोणले उपयुक्त, भौगोलिक सुगमता र हावापानीले समेत उपयुक्त रहेको धनकुटालाई उपेक्षा गर्दै अन्तराष्ट्रिय सीमा क्षेत्रमा पर्ने गरी अस्थायी राजधानी तोकिएकोमा धनकुटाबासी अत्यन्तै दुस्खी भएको र अन्यायमा परेकोले संयुक्त राजीनामा दिन वाध्य भएको जिल्ला सभापति पौडेलले बताए ।
धनकुटाबासीले ३६ दिनदेखि लगातार आन्दोलन गर्दा पनि कांग्रेसको नेतृत्वमा रहेको सरकारले गरेको अदुरदर्शी र अन्यायपूर्ण निर्णयप्रति गम्भीर असहमति रहेको पौडेलले बताए ।
उनले जिल्लाबासीको आन्दोलनलाई अझ सशक्त र सफल बनाउन जनभावानाको उच्च कदर र समर्थन गर्दै शनिवारदेखि आ–आफ्नो पदबाट संयुक्त राजीनामा दिएको बताएका छन् ।
विज्ञप्तिमा जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रदेशसभाका सांसदलाई अभियानमा साथ दिन आग्रह समेत गरिएको छ । पत्रकार सम्मेलनको पार्टी नेता दिनेश राई, विष्णु पौडेल, खेम पौडेललगायत दर्जनौ कार्यकर्ताको उपस्थिति थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।