ओली–प्रचण्डका दूतहरूको गोप्य भेट,



काठमाडौं, चैत । प्रधानमन्त्री केपी ओलीलाई कुर्सी बचाउन समस्या परिरहेका बेला एमालेका नेता एवम् अर्थमन्त्री विष्णु पौडेल र माओवादी केन्द्रका नेता जनार्दन शर्माबीच भेटवार्ता भएको छ ।

राजधानीमा शनिबार पौडेल र शर्माबीच सम्वाद भएको हो । सम्वादमा के–के विषयमा कुराकानी भएको थियो त्यसबारेमा दुबै नेताले बाहिर केही भनेका छैनन् ।

उनीहरूबीच कम्युनिस्ट आन्दोलनलाई जोगाउने र वर्तमान राजनीतिक संकटका विषयमा छलफल भएको निकटका नेताहरूले बताएका छन् ।

कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने गृहकार्य भइरहेका बेला प्रचण्ड र ओलीका दूतहरूबीच गोप्य वार्ता भएपछि प्रचण्डमाथि अविश्वास बढेको सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ ।

ओलीविरुद्ध अविश्वास प्रस्ताव दर्ता गराएर कांग्रेको नेतृत्वमा सरकार बनाउने कांग्रेसको निर्णय आएको २४ घण्टा नबित्दै ओली र प्रचण्डका दूतबीच भेट भएपछि खैलाबैला भएको छ ।

विगतमा एमाले र माओवादी केन्द्रबीच एकता गराउने मुख्य सूत्रधार मानिएका यी दुई नेताबीचको भेटलाई अर्थपूर्ण मानिएको छ । पौडेलले केही दिनअघि एमालेका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका थिए ।

एमाले विभाजनतिर उन्मुख भएका बेला ओलीका विश्वासपात्र मानिने अर्थमन्त्री पौडेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका विश्वासपात्र मानिने शर्माबीच गोप्य भेटवार्ता भएको छ ।

माओवादी केन्द्रले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरिरहेको छ । कांग्रेसले पनि ओली सरकारविरुद्ध माओवादी र जसपासँग सम्वाद गरेर अविश्वासको प्रस्ताव दर्ताको पक्षमा निर्णय गरेको छ ।

उता, ओलीले अविश्वासको प्रस्ताव दर्ता भयो भने जसपाका अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन सहयोग गर्ने चर्चा पनि चलेको छ ।

तर, ओलीले अविश्वासको प्रस्ताव दर्ता भएमा पदबाट राजीनामा दिने पक्षमा रहेको चर्चा पनि छ । अर्ली इलेक्सनको पक्षमा ओली रहेको केही नेताहरूले बताउँदै आएका छन् ।

एमालेभित्र आन्तरिक झगडा छ । एमालेभित्रको झगडा मिलाउन राष्ट्रपति विद्यादेवी भण्डारीले पहल समेत गरेकी छिन् । भण्डारीले एमालेका वरिष्ठ नेता खनाललाई डल्लुस्थित निवासमै पुगेर पार्टी विभाजनमा नलाग्न दवाव दिएकी छिन् ।

पदीय मर्यादा विपरित राष्ट्रपति भण्डारीले एमालेका नेता खनाललाई घरमै पुगेर भेट गरेको भन्दै आलोचना समेत भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्