Ramchandra Paudel

Banner Third

आफ्नै नेतृत्वमा सरकार बनाउन देउवाभन्दा रामचन्द्र पौडेल सक्रिय

By Saru Sunar

April 05, 2021

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस आफ्नै नेतृत्वमा सरकार बनाउन अंकगणितको जोडघटाउमा लागेको छ। कांग्रेसले सरकार गठनका लागि आवश्यक पर्ने अंकगणितको जोडघटाउमा आफूलाई कसरी बलियो बनाउने भन्नेतर्फ छलफललाई अनौपचारिक रूपमा अघि बढाएको हो। कांग्रेसको २० चैतमा बसेको केन्द्रीय समिति बैठकमार्फत् प्रधानमन्त्री केपी ओलीको राजीनामा माग गर्दै आफ्नै नेतृत्वमा सरकार गठनको प्रयास गर्ने निर्णय गरेको थियो।

सरकार गठनका लागि आवश्यक पर्ने सांसदको संख्याका विषयमा सुनिश्चतता नहुँदा नयाँ परिस्थितिमा कसरी अघि बढ्ने भन्नेमा कांग्रेस अलमलमा छ। यसैकारण सभापति शेरबहादुर देउवाले अझै प्रस्ट रूपमा मुख खोलिसकेका छैनन्। तर, देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शनिबार सरकार गठनका विषयमा अनौपचारिक संवाद भने भएको थियो।

यस्तै, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सरकार गठनका लागि संसदमा रहेका दलहरूसँगको छलफलमा सक्रियताका साथ जुटिरहेका छन् । उनले आइतबार जसपाका अध्यक्ष महन्थ ठाकुरलाई उनकै निवास भैंसेपाटी पुगेर भेट गरेका हुन् । सो भेटमा पौडेलले नयाँ सरकारका लागि कांग्रेसलाई सहयोग गर्न नेता ठाकुरसँग आग्रह गरे।

पौडेलले सो भेटमा जसपाका मागबारे सभापति देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग संवाद गरेर संयुक्त रूपमा समाधान खोज्दै अघि बढ्नसमेत नेता ठाकुरलाई प्रस्ताव गरेका छन्। पौडेलको सो प्रस्तावपछि जवाफमा ठाकुरले भने आफ्नो दलले राखेका माग सम्बोधन गर्ने समूहलाई नै साथ दिने जवाफ दिएका थिए ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको अवस्थामा सरकार गठन गर्न कांग्रेसलाई अंकगणितमा जसपाको साथ आवश्यक पर्छ। त्यसका लागि पहिले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ताको प्रक्रियामा अघि बढ्नुपर्ने र त्यसपछि प्रधानमन्त्री ओलीले संसद्मा विश्वासको मत लिने वातावरण भने बन्नैपर्छ। आजको राजधानी दैनिकमा समाचार छ।