माहुते मार्ने पाटेबाघ समातियो, काठमाडौं ल्याउने तयारी



बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जभित्र आइतबार बेलुका गैँडा गणनामा खटिएका हात्तीका माहुतेलाई मार्ने पाटेबाघलाई निकुञ्जको टोलीले नियन्त्रणमा लिएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया राष्ट्रिय निकुञ्जको संयुक्त टोलीले निकुञ्जभित्र पर्ने गैँडा मचान क्षेत्रबाट पाटेबाघ नियन्त्रणमा लिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

योसँगै बर्दियाबाट पाँच वटा पाटेबाघ नियन्त्रणमा लिइएको छ । भुरिगाउँ क्षेत्रबाट नियन्त्रणमा लिइएको बुढो पाटेबाघ उपचारका क्रममा मरेको थियो । एउटा बर्दिया निकुञ्ज मुख्यालय ठाकुरद्वारामा राखिएको छ । एउटा बर्दिया निकुञ्जको रम्मापुर सेक्टरमा राखिएको छ । अर्कोलाई बाँके राष्ट्रिय निकुञ्जमा राखिएको पाटेबाघ खोरको सरिया बङ्गाएर भागेको छ । अहिले नियन्त्रणमा लिइएको बाघलाई जावलाखेल चिडियाखाना लैजाने तयारी छ ।

गैँडा गणना गर्न गएको हात्तीका माहुते पुलिसराम चौधरीलाई आइतबार बेलुका बर्दिया राष्ट्रिय निकुञ्जभित्र गैँडा मचान क्षेत्रमा पाटेबाघको आक्रमणबाट ज्यान गएको थियो । यसअघि चैत ३ गते पनि यसै क्षेत्र आसपासमा पाटेबाघको आक्रमणबाट एक महिलाको ज्यान गएको थियो । निकुञ्जको प्राविधिक टोलीले क्यामरा ट्रयापिङ गर्दा महिलालाई आक्रमण गर्ने र माहुतेलाई आक्रमण गर्ने पाटेबाघ यही हुनसक्ने बताउँदै नियन्त्रणमा लिएको हो । अन्दाजी १० वर्षको भाले पाटेबाघलाई राति नै ​टोलीले डार्ट गरि नियन्त्रणमा लिइएको हो ।

बर्दिया निकुञ्जको मध्यवर्ती क्षेत्र तथा खाता जैविक मार्ग आसपासमा मान्छे र पशुचौपायालाई पाटेबाघले आक्रमण गरी ज्यानै लिने घटना बढ्दै गएको छ । नियन्त्रणमा लिइएको पाटेबाघले तीन हप्ताको अवधिमा २ जनालाई आक्रमण गरेको निकुञ्जको अनुमान छ । माहुतेलाई आक्रमण गर्ने बाघ त यै नै हो र तीन साताअघि यसै आसपास क्षेत्रमा महिलालाई आक्रमण गर्ने बाघ पनि यहि हुनसक्ने अनुमान रहेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत श्रेष्ठले भने ।

माहुतेलाई पाटेबाघले आक्रमण गरेर ज्यान लिए लगत्तै राष्ट्रिय प्रकृति संरक्षण कोष र बर्दिया निकुञ्जको टोलीले राति नै बाघलाई नियन्त्रणमा लिएको जनाएको छ । नियन्त्रणमा लिइएको पाटेबाघलाई सदर चिडियाखाना काठमाडौं लैजाने तयारी थालिएको वार्डेन श्रेष्ठले बताए । पाटेबाघको आक्रमणबाट बर्दिया राष्ट्रिय निकुञ्ज, खाता जैविकमार्ग र राष्ट्रिय वन आसपासका क्षेत्रमा एक वर्षभित्र ज्यान गुमाउनेको संख्या ११ पुगेको छ  ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्