चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथि, निर्माणाधीन पक्की पुल भत्कियो



चितवनको ठिमुरा र तनहुँको देवघाट जोड्ने त्रिशूली नदीमाथि बन्दै गरेको पक्की पुल भत्किएको छ । कात्तिक ०७१ मा शिलान्यास गरिएको यो पुल तीन वर्षभित्र निर्माण सम्पन्न गरी १९ कात्तिक ०७४ मा हस्तान्तरण गर्नुपर्ने थियो । तर, भूकम्प, कोभिड र डिजाइन परिवर्तनको कारण देखाउँदै चारपटक निर्माण अवधि थप गरिएको थियो । स्थानीय देवेन्द्र पौडेलका अनुसार पछिल्लो समय भने पुलको काम केही तीव्र भएको थियो  सुरुमा १६ करोड ५३ लाखमा इलाइट, एड्भेन्चर र इन्द्रेणी जेभीले पुलको ठेक्का पाएको थियो । पछि डिजाइन परिवर्तन गर्दै लागत बढाएर २१ करोड ६८ लाख पुर्याइएको थियो । पुलको लम्बाइ दुई सय मिटर र चौडाइ साढे आठ मिटर छ । पुल निर्माण कार्यमा ढिलाइ गरिएको भन्दै स्थानीयले दबाब समिति नै गठन गरेका थिए ।अन्तिमपटक थपिएको म्याद पनि आगामी असार मसान्तमा सकिँदै थियो । ८० प्रतिशत निर्माण सकिएको पुल मंगलबार बिहान ४ बजेतिर एकाएक भत्किएको हो ।

पुलमा ४०–४० मिटरका चारवटा स्पान छन् । देवघाटतर्फ रहने एउटा स्टिलको स्पान र ठिमुरातर्फका दुईवटा कंक्रिटका स्पान निर्माण भइसकेका थिए । बीचमा रहने स्पानमा ढलान गर्न बाँकी थियो । ढलान भएका दुईवटै स्पान भत्किएको सडक डिभिजन कार्यालय भरतपुरका इन्जिनियर विजय दराईले बताए । उनका अनुसार पुल भत्किएको विषयमा निर्माण कम्पनीसँग पत्राचार भएको छ, कम्पनीले पुरानै बजेटभित्र नयाँ पुल बनाउने सहमति जनाएको छ ।

सडक विभागले पुल भत्किएको विषयमा अध्ययन गर्न समिति बनाएको डिभिजन कार्यालय भरतपुरका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताए । ‘पुल भत्केको जानकारी प्राप्त भएको छ, थप विषय विभागको अध्ययनपछि मात्रै भन्न सकिन्छ,’ उनले भने ।

त्रिशूलीमै बनिरहेको नुवाकोट–धादिङ जोड्ने पुल पनि यसअघि भत्किएको थियो।  नुवाकोटको केउरेनी र धादिङको फोस्रेटार जोड्ने पुल पनि निर्माण गर्दागर्दै ११ चैत ०७५ मा भत्किएको थियो । त्रिशूली नदीमाथि बनिरहेको यो पुलको सम्झौता असार ०७१ मा भएको थियो भने असार ०७४ मा निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, म्याद सकिएको २१ महिनापछि बनाउन थालिएको थियो । ढलान गर्नुअघि फर्मा राख्ने काम हुँदै गर्दा हुरीले भत्काइदिएको थियो । कांग्रेसका सांसद बहादुरसिंह लामाको कम्पनीले पुल बनाइरहेको थियो। सडक विभागका अनुसार त्यसअघि पनि यस्तै किसमले २–३ वटा पुल भत्किएका घटना भएका छन् । सुनकोसी पुल र त्रिशूली पुल तनहुँमा पनि यस्ता घटना भएको विभागले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्