वैदेशिक रोजगार विभागका महानिर्देशक दाहालको सरुवा



काठमाडौं। वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालको सरुवा भएको छ । दाहाल मुख्यमन्त्रीको कार्यालय लुम्बिनीमा सरुवा भएका हुन् । विभागका तत्कालीन महानिर्देशक डा. भीष्मकुमार भुसाल अख्तियार दुरुपयोग अनुसन्धान आयोग सरुवा भएपछि महानिर्देशक दाहाल गत वर्ष माघ २२ गते विभागको महानिर्देशको जिम्मेवारीमा आएका थिए ।

विभागका सूचना अधिकार महेन्द्रनाथ भट्राईले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट जानकारी आउन बाँकी रहेको मध्यान्ह राष्ट्रिय दैनिकलाई बताए । वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्ने र रोजगारीमा जाने कामदारहरुको अधिकार संरक्षण गर्ने जिम्मेवारी भएपनि विभागले विगत केही वर्षयता नेतृत्वको स्थायित्व पाउन सकिरहेको छैन । त्यसले वैदेशिक रोजगार क्षेत्रको प्रशासनमा समस्या रहेको वैदेशिक रोजगार व्यवसायीहरुले बताउने गरेका छन् ।

तत्कालीन महानिर्देशक डा. भीष्म कुमार भुसालले पनि केवल दश महिना विभागको नेतृत्व गरेका थिए । वैदेशिक रोजगार प्रशासनलाई मर्यादित र पारदर्शी बनाउन वैदेशिक रोजगार सूचना प्रणालीको प्रयोगमा जोड दिएका डा. भुसाल जस्तै महानिर्देशक दाहालले पनि त्यसको स्थायित्वमा जोड दिए । तर पछिल्ला दिनमा म्यानपावर कम्पनीमा अनियन्त्रित रुपमा छापा मारेको वैदेशिक रोजगार व्यवसायीको गुनासो बढेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्