Banner Second

हाम्रो प्रशासनले समयको गति समात्न सकेन : पोखरेल

By Thah Online

April 07, 2021

काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलले समयको गतिसँगै निजामती प्रशासन परिवर्तन हुन नसकेको बताएका छन्। सिंहदरबारमा बुधबार आयोजित अन्तरक्रिया कार्यक्रममा पोखरेलले निजामती प्रशासनले परिणामलाई भन्दापनि प्रक्रियालाई जोड दिने गरेको बताएका हुन्।

उनले भने, ‘अहिले निजामती प्रशासनभित्र रहेको प्रमुख समस्या हो सोचमा सकारात्मक परिवर्तनको अभाव। निजामती प्रशासन अझैसम्म, माफ गर्नुहोला एउटा शब्द प्रयोग गर्न चाहन्छु, झिँगे टसाई सोचबाट मुक्त हुन सकेको छैन। यसलाई विरासतमा पाएको भन्ने गरिए तापनि समयको गतिसँग प्रशासन परिवर्तन हुन नसकेको रूपमा यसलाई बुझ्नु पर्दछ भन्ने म यहाँहरूसमक्ष राख्न चाहन्छु। त्यसैले होला निजामती प्रशासनले परिणामलाई भन्दा पनि प्रक्रियालाई जोड दिने गरेको छ।’

कर्मचारीतन्त्रले जनताको विश्वास जित्न नसकेको पनि उपप्रधानमन्त्री पोखरेलको आरोप थियो। ढिलासुस्ती, भ्रष्ट्राचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सनेलगायतका प्रवृतिका कारण कर्मचारीतन्त्रमाथि प्रश्न उठ्ने गरेको उनको भनाइ थियो।

‘कर्मचारीतन्त्र आफैमा सक्षम हुँदाहुँदै पनि जनताको विश्वास राम्ररी जित्न सकिरहेको छैन। यसका पछाडि केही यस्ता कारणहरू छन् जसले कर्मचारीतन्त्रको गरिमालाई कमजोर र जिर्ण बनाउँदै लगेका छन भनेर भन्न सकिन्छ,’ उनको आरोप थियो, ‘ढिलासुस्ती, भ्रष्टाचार, जिम्मेवारी पन्छाउने, निर्णय गर्न हिचकिचाउने, समस्यासँग तर्सने र राम्रो उद्देश्यका लागि पनि जोखिम बोक्न नचाहने प्रवृतिजन्य संस्कारका ऐँजेरुहरू कर्मचारी तन्त्रमा पलाउँदै गएका छन् भनेर आम टिप्पणी हुने गरेको छ। यसले नागरिक र कर्मचारीतन्त्रको बीचमा दूरी बढाउँदै लगेको छ।’

म्याक्स वेबरको वेबेरियन मोडलको कर्मचारी तन्त्रका सकारात्मक पक्षलाई ग्रहण गर्दागर्दै पनि कर्मचारीतन्त्रका नकारात्मक पक्षलाई हटाउन नसकिएको पनि उपप्रधानमन्त्री पोखरेलले बताए। कर्मचारीतन्त्र निष्क्रिय, असंवेदनशील र जड समूह नभएकोले कर्मचारीतन्त्रले आफूलाई संवेदनशील, गतिशील मानवहरूको विवेकशील समूहको रूपमा स्थापित गर्न सक्नुपर्ने बताए। उनले भने, ‘कर्मचारीतन्त्रले आफ्नो उत्तरदायित्व बुझ्नुपर्ने हुन्छ र जवाफदेहिता सम्झनुपर्ने हुन्छ।’