पत्रकार महासंघको अध्यक्षमा नरहरि सापकोटा



नेपाल पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा नरहरि सापकोटा विजयी भएका छन् । गोरखा शाखाका २९ जना मतदातामा १७ मत प्राप्त गरी सापकोटा आगामि तीनबर्षे कार्यकालका लागि निर्वाचित भएका हुन् ।

उनका निकटत्तम प्रतिद्वन्द्वी दीपक श्रेष्ठ(जलन)ले १२ मत प्राप्त गरेका थिए ।
अध्यक्ष पदमा मनोनयन गरेकी अनुपमा खनालले उम्मेद्वारी फिर्ता लिएकी थिइन् ।
सापकोटा दरौँदी दैनिकका कार्यकारी सम्पादक, रेडियो गोरखाका सहायक स्टेशन मेनेजर, नागरिक राष्ट्रिय दैनिकका जिल्ला संवाददाता एवं पत्रकार महासंघ गोरखाको यसअघिको कार्यकालका सचिव हुन् ।

आफ्नो नेतृत्वमा रहेको कार्यकालमा जिल्लामा कार्यरत पत्रकारहरुको हक र हितका लागि तथा जिल्लामा सञ्चालित मिडियाहाउसको स्तरउन्नतिका लागि दिलोज्यान दिएर लागि पर्ने नवनिर्वाचित अध्यक्ष सापकोटाले बताएका छन् । परिवर्तित समयसापेक्ष पत्रकारहरुलाई प्रविधिमैत्री बनाउने, क्षमतावृद्धि गरी सशक्त र सबल बनाउन लागिपर्ने उनले बताएका छन् ।
अध्यक्षबाहेकका अन्य पदमा यसअघि नै सर्वसम्मत पदाधिकारी तथा सदस्य चयन भइसकेका थिए ।

दुई उपाध्यक्ष, सचिव, कोषाध्यक्ष, दुई सहसचिव र सात सदस्य यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । खुल्लातर्फको उपाध्यक्षमा नरेन्द्र ढकाल, महिला उपाध्यक्षमा रेनु श्रेष्ठ, सचिवमा विकास मरहट्टा, कोषाध्यक्षमा मोहसिन अलि मियाँ, सहसचिवमा गुणराज रोका र सहसचिव समावेशीमा केशव गुरुङ निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै सदस्य(खुल्ला)तर्फ दानबहादुर गुरुङ, विमल श्रेष्ठ, राजेश पौडेल, सुजन न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । दलित सदस्यमा सन्दिप सुनार, महिला सदस्यमा सस्मिता पन्त र आदिवासी जनजाति सदस्यमा उद्धव कुमाल निर्विरोध निर्वाचित भएका संयोजक दुवाडीले जानकारी दिए ।

प्रदेश समिति र केन्द्रीय समितिको निर्वाचन पनि बिहिबार सम्पन्न भएको छ । तीनै तहको कार्यसमिति चयन गर्न देशैभर एकै दिन, एकै समय निर्वाचन गर्ने कार्यक्रम अनुसार निर्वाचन सम्पन्न भएको हो ।

केन्द्रीय समितिमा भीमलाल श्रेष्ठले चुनाव लडेका छन् भने प्रदेश समितिको सचिवमा कैलाशबाबु श्रेष्ठ र कोषाध्यक्षमा राजेन्द्र न्यौपानेले मनोनयन दिएका छन् । उनीहरुको मत परिणाम बिहिबार मात्र आउने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्