काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ। बैठक १ बजेका लागि बोलाइएको छ। बैठकमा सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विवादास्पद विधेयकको प्रतिवेदन पेश गरिने कार्यक्रम रहेको छ ।
संसदीय समितिबाट पारित भएको १५ महिनापछि उक्त विधेयकको प्रतिवेदन बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा पेश गर्ने सम्भावित कार्यसूची सार्वजनिक भएको छ। १३ पुस २०७६ मा संसदको विकास तथा प्रविधि समितिले प्रमुख विपक्षी नेपाली कांग्रेसको फरक मतका बाबजुद सूचना प्रविधिसम्बन्धी विधेयक बहुमतले पारित गरेको थियो।
समितिबाट विधेयक पारित भए लगत्तै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले विज्ञप्ति निकालेर उक्त विधेयक सच्याउन माग गरेका थिए। तर, संसदमा पेश हुन लागेको विधेयकको प्रतिवेदनमा कांग्रेसको फरक मत समेटिएको छैन। कांग्रेसले पनि अब हाउसमै विधेयकमाथि आफ्नो फरक मतलाई उठाउने तयारी गरेको छ।
विकास तथा प्रविधि समितिबाट विधेयक पारित हुँदा सांसद विष्ट र अर्का सांसद रंगमती शाहीले कांग्रेसका तर्फबाट फरक मत राखेका थिए। आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आजको बैठकमा मधेशी आयोगको आर्थिक वर्ष २०७६/७७ र थारु आयोगको आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची रहेको छ।
आजैको बैठकमा पूर्व राष्ट्रियसभा सदस्य ऐश्वर्यराज प्रधानांगको निधनमा शोक प्रस्तावसमेत प्रस्तुत हुने भएको छ। त्यस्तै शून्य र विशेष समयको नियमित कार्यक्रम पनि चल्ने छ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।