विजयनगरमा पनि समुदाय प्रहरी साझेदारी पाठ्यक्रम लागू हुने



कपिलवस्तु , चैत २६/ विजयनगर ।
कपिलवस्तु विजयनगर गाउँपालिकामा विहिवार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको आयोजनामा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न गरिएको छ । प्रहरी विद्यालय सम्पर्क कार्यक्रम अन्तर्गत गाउँपालिकाको सभाहल खडैचामा प्रधानाध्यापकहरुका विच अन्तरक्रिया कार्यक्रम गरिएको हो ।
प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संघ संस्था र विद्यालय विच साझेदारी निर्माण गरी सामुदायिक सुरक्षालाई संस्थागत गर्न, स्थानीय सुरक्षा चुनौती सामाजिक विकृति र अपराधको पहिचान गरी सचेतनामुलक कार्यक्रम सञ्चालन गरी नियन्त्रण गर्ने, सामुदायिक गस्ती र प्रभावकारी प्रहरी परिचालन गर्न, फरार अपराधी प्रक्राउमा समुदायको सहयोग गर्न, सुचनाको आदान प्रदान गर्न, वातावरण संरक्षण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रण गर्न र बालबालिकालाई अपराध गर्न र पिडित हुनबाट जोगाई असल नागरिकको रुपमा विकास गर्ने उद्धेश्यले अन्तरक्रिया गरिएको हो ।
आधारभूत सुरक्षा, महिला वालबलिका तथा जेष्ठ नागरिक बिरुद्धका अपराध र हिंसा नियन्त्रण, बाल विवाह दाईजो, बोक्सी प्रथा र सामाजिक विकृति नियन्त्रण, सडक सुरक्षा, लागूऔषध र मदिरा नियन्त्रण, यौन दुव्र्यवहार, नैतिक शिक्षा, साईबर सुरक्षा, सामाजिक भेदभाव तथा अपमानजन्य व्यवहार, बाल यौन दुव्र्यवहार शरिरको परिधी, करणी सम्बन्धी कसुर, आगलागी नियन्त्रण लगायतको विषयवस्तु समावेश गरी निमार्ण गरिएको पाठ्यपुस्तक समेत वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले अपराध गरेको कसुर अनुसार सजाय पाउनुपर्ने बताउनुभयो । त्यस अनुसार सजाय पाएन भने मनोबल बढ्दै जाने बताउनुभयो । उहाँले अपराध हुने ठाउँ, विद्यालयमा सिसि क्यामेरा राख्नाले शिक्षक, विद्यार्थीलाई मदत गर्ने बताउनुभयो । शिक्षक बुद्धिजीवी भएको बताउँदै स्थानीय र सम्बन्धित निकाय र सरोकारवालाई सुझाव दिनसमेत आग्रह गर्नुभयो । छोरीलाई जोगाउन पहिला छोरालाई नै बढाउनुपर्ने जस्ले गर्दा लैँगिक हिंसा हटेर जाने बताउनुभयो । यो पाठ्यक्रमले विद्यालयमा प्रभावकारी रुपमा लागु गर्न अनुरोधसमेत गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै २८ नं. हेडक्वाटरका प्रहरी उपरिक्षक धुव्र बहादुर कार्कीले ज्ञान जान्ने व्यक्ति ज्ञानी होइन भन्दै आफ्नो दायित्व, जिम्मेवारीलाई निर्वाह गरी व्यवहारमा लागु गरे परिवर्तन हुने बताउनुभयो । यसरी सामाजिक दायित्व निर्वाह गर्दै हो भने विभिन्न आपराधिक घटनाहरु नघट्ने र असल नागरिक समाजको निर्माण हुने बताउनुभयो ।
यस्तै कार्यक्रमकलाई समापन गर्दै गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले विकासका कार्यमा शिक्षहरुको भूमिका महत्वपूर्ण भएको भन्दै शिक्षा क्षेत्रमा लगानी बढी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । मानिस सचेत भए हरेक क्षेत्रमा विकास हुँदै जाने उहाँले बताउनुभयो । जिल्ला प्रहरी कार्यालयले प्रदान गरेको पाठ्यक्रमलाई सबै विद्यालयमा लागु हुने र प्रभावकारी ढङ्गबाट अगाडी बढ्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा विजयनगरका सम्पूर्ण विद्यालयका प्रधानाध्यापक, जनप्रतिनिधि,कर्मचारी, प्रहरी, लगायतको उपस्थिति रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्