काठमाडौँ, चैत । बिहीबार सांसद तथा मन्त्री पद गुमाएका ४ जनालाई प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालै पुनर्नियुक्तिको तयारी गरेका छन् ।
नेकपा माओवादी केन्द्र छोडेर गत फागुन २८ गते नेकपा एमाले प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीको दुवै पद गुमेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले उनीहरुको सांसद तथा मन्त्री पद नरहेको जानकारी गराएका थिए ।
उनीहरुको दुवै पद गुमेपछि प्रधानमन्त्री ओलीले आफू निकट नेताहरुसँग आउँदो बाटोबारे छलफल गरेका थिए । छलफलमा ति मन्त्रीहरुलाई पुनः नियुक्ति गर्ने सुझाव दिइएको थियो ।
उनीहरु चारै जनाको पुनर्नियुक्ति हुनसक्ने सम्भावना रहेको बताइएको छ । संविधानअनुसार सांसद नभएपनि ६ महिना मन्त्री बन्न पाउने व्यवस्था छ । त्यसैअनुरुप प्रधानमन्त्री ओली अघि बढ्ने बुझिएको छ ।
माओवादी छोडेपछि उनीहरुलाई पार्टीले कारवाही गरेको थियो ।
उनीहरु संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्री नियुक्त भएका थिए । जुन धारामा मन्त्री हुन सांसद हुनुपर्नेछ । तर संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएका व्यक्तिलाई पनि मन्त्री नियुक्त गर्नसक्ने व्यवस्था छ । जुन नियुक्तिमा ६ महिनापछि स्वतः पदमुक्त हुनेछन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।