सिंगटी हाइड्रोपावरको आईपीओ बाँडफाँड आज, कतिले पाउदैछन् शेयर ?



चैत २७ , काठमाडाैँ। सिंगटी हाइड्रोपावरको आईपीओ शुक्रबार बाँडफाँड हुने भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक मेगा क्यापिटलको कार्यालयमा बिहान ११ आईपीओ बाँडफाँड हुने भएको हो। कम्पनीले चैत ६ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँको दरमा २९ लाख कित्ता आइपीओ बिक्रीमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात १ लाख ५४ हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् ५८ हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँड गरिएको थियो। बाँकी २६ लाख ९७ हजार कित्ताका लागि सर्वसाधारणहरुका लागि बिक्री खुला गरेको थियो।

कम्पनीले सर्वसाधारणमा बिक्रीमा ल्याएको आइपीओमा १५ लाख २३ हजार ४५० जना आवेदकबाट २ करोड ४७ लाख २० हजार ४५० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ। जुन कम्पनीले बिक्रीमा ल्याएको २६ लाख ९७ हजार कित्ता आइपीओको ९.१६ गुणा भन्दा धेरै हो। माग भन्दाबढी आवेदन परेकोले कम्पनी शेयर न्यूनतम १० कित्ताका दरले वितरण हुनेछ। त्यस अनुसार २ लाख ६९ हजार ७०० जनाले मात्रै १० कित्ताका दरले शेयर पाउनेछन्। बाँकि साढे १२ लाखभन्दा बढी आवेदकले भने शेयर नपाउने पक्का देखिएको छ।

आयोजना प्रभावित स्थानियलाई पहिलो चरणमा आईपीओ विक्री गरिसकेको कम्पनीले दोस्रो चरणमा आम सर्वसाधारणमा आईपीओ विक्री गरेको हो । स्थानियमा कम्पनीले गत माघ ४ गतेदेखि फागुन ३ गतेसम्म १४ लाख ५० हजार कित्ता आईपीओ जारी गरेको थियो।

यस कम्पनीले २५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ। उक्त आयोजनको निर्माण लागत निर्माण अवधिको ब्याजसहित प्रति मेगावाट २२ करोड रुपैयाँ हुने प्रक्षेपण गरिएको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ सय रुपैयाँ रहेको छ। दोस्रो बजारमा पहिलो कारोबारका लागि नेटवर्थ वा नेटवर्थको तीन गुणासम्मको मूल्य रेञ्ज पाउने व्यवस्था बमोजिम कम्पनीको पहिलो कारोबारका लागि एक सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्मको मूल्यरेञ्ज पाउने देखिन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्