काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारलाई विस्थापित गर्नका लागि शुक्रबार तीन दलका शीर्ष नेताहरुबीच गहन छलफल हुँदैछ । कांग्रेस पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिउँसो ३ बजे बैठक बस्ने जानकारी दिए । बैठकमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा) का शीर्ष नेताहरुबीच छलफल हुनेछ । देशको समसामयिक परिस्थितिबारे साझा धारणा बनाउन छलफल आह्वान गरिएको बताइए पनि अहिले सत्ता परिवर्तन नै महत्वपूर्ण कडीका रुपमा देखिएको छ । तीनै दलले ओली सरकारले गत पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको चर्को विरोध गर्दै सडकमा उत्रिएका थिए । तर सर्वोच्च अदालतले संसद विघटन विरुद्धको मुद्दामा गत फागुन ११ गते फैसला गर्दै संसद ब्युँताइदिएको थियो । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको विवास बुढानीलकण्ठमा तीन दलका नेताहरुबीच निर्णायक छलफल हुने बताइएको छ ।
कांग्रेसले हालैमात्र आफ्नै नेतृत्वमा नयाँ सरकार गठन गर्न पहल गर्ने निर्णय गरेको थियो । गत आइतबार उक्त निर्णय भएको भए पनि अहिलेसम्म दलहरुसँग छलफल भने गरेको छैन ।कांग्रेसले निर्णय गरेपछि पनि सुस्ताएपछि केही आशंका पैदा भएको भए पनि समय आएपछि यसले गति पाउने नेताहरुले बताएका थिए । त्यस्तै जसपाको महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले ओलीसँगै मिलेर सरकार बनाउने लक्ष्य राखेको छ भने डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्ष भने असंवैधानिक ओली सरकारलाई कुनै पनि हालतमा फाल्नुपर्ने धारणा राख्दै आएको छ ।
फागुन २३ गते एमाले र माओवादीको एकताबाट बनेको (नेकपा) पनि सर्वोच्चले अवैधानिक भन्दै एमाले र माओवादीलाई पूर्ववत अवस्थामा ब्युँताइदिएपछि दलहरुबीच समस्या थपिएको छ । पछिल्लो समय ओली सरकारलाई निरन्तरता दिनु हुन्न भनिए पनि तीन दलको एकता बिना ओली सरकार हट्ने सम्भावना छैन । माओवादीले अहिलेसम्म सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन ।
जसपाको यो दुई धारले गर्दा अझै पनि ओली सरकारलाई फाल्न मुस्किल भएको बताइन्छ । ठाकुरले भने नगदमै कारोबार गर्ने र संविधान संशोधनदेखिका माग ओलीले नै पूरा गर्न सक्ने आँकलन गरेका छन् । तर संविधान संशोधन गर्न दुई तिहाईको समर्थन चाहिने भएकाले कुनै पनि सरकारले यो माग पूरा गर्ने देखिँदैन ।ठाकुर आफू प्रधानमन्त्री बन्न लालायित छन् । उनलाई कुनै समय ओलीले प्रधानमन्त्रीको ‘अफर’ गरेको चर्चा छ । उनी आफैले भने मिडियामा केही बताएका छैनन् ।तर उनको अन्तर्वार्तामा इच्छा भने तीव्र छ । आफ्नै पार्टीमा पनि आफूसँग बहुमत भएको दाबी उनको छ । पार्टीलाई एकढिक्का बनाएर जाने सोचमा भने उनको भनाई रहेको पाइँदैन ।
यही विषयलाई ओलीले बुझेरै मज्जासँग ठाकुरको सोझोपनको फाइदा उठाएको जसपाको अर्को पक्षका नेताहरुको तर्क छ ।अन्योलबीच ओलीको असंवैधानिक कदम र बेथितिको अन्त्य गर्दै नयाँ सरकार जरुरी भइसकेको कांग्रेस नेताहरुको भनाइ रहेको छ । उनले एमाले बाहेकका पार्टीबीच सहकार्य गरेर वैकल्पिक सरकार गठनबारे कांग्रेस छलफलमा जुटेको जानकारी दिएका हुन् । उनले देशमा संकट निम्याउने वर्तमान सरकार परिवर्तन गर्नुपर्ने बेला आएको उल्लेख गरेका हुन् । मिडियामा कांग्रेस नेता एनपी साउदले सत्ता समीकरणका लागि पार्टी छलफलमा जुटेको बताउँदै अब ओलीलाई फाल्ने समय आएको बताएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।