आजदेखि गैंडा गणना सकिँदै



काठमाडौं। आजदेखि गैँडा गणना सकिने भएको छ। पर्सा राष्ट्रिय निकुञ्जको प्रतापपुरबाट शुरु गरिएको गणना आज सकिँदै छ। पर्सा र चितवन राष्ट्रिय निकुञ्जलाई एउटा ब्लक बनाएर चैत ९ गतेबाट गैँडा गणना थालिएको थियो।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालका अनुसार साँझसम्म गणना सम्पन्न गरेर शनिबार (भोलि) दिउँसो नतिजा सार्वजनिक गरिने छ । गत आइतबार गणनाका क्रममा निकुञ्जको सेरिधजाह क्षेत्रमा जङ्गली ध्रुवे हात्तीले गणनाका क्रममा सात जना कर्मचारीलाई घाइते बनाएको थियो।

तीमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । उनको अहिले पनि ह्याम्स अस्पताल काठमाडौँमा उपचार भइरहेको छ। बुधबार र बिहीबार ध्रुवेलाई धपाउने प्रयास गरिएको भए पनि सफल नभए पछि विशेष तयारीका साथ आज गणना गरिएको उनले जानकारी दिए।

हरेक पाँच÷पाँच वर्षमा गैँडा गणना गर्ने गरिन्छ। यसअघि सन् २०१५ मा गैँडा गणना गरिएको थियो। निकुञ्जलाई विभिन्न ब्लक बनाएर प्राविधिकले एक–एक गरी गैँडा गनेका छन्। गैँडाको संख्या, प्रजनन अवस्था, विचरण र आहाराको अवस्था थाहा पाउन हरेक पाँच–पाँच वर्षमा गैँडा गणना गरिँदै आएको हो। गणनापछि यसको अवस्था हेरेर व्यवस्थापनको काम गरिन्छ। पछिल्लो पटक सन् २०१५ को गणनामा नेपालमा कूल ६ सय ४५ वटा गैँडा थिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्