मोदीको ओलीलाई अग्रिम शुभकामना



सैघाली खबर
काठमाण्डौ, ७ माघ । पदभार ग्रहण नगर्दैै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको रुपमा शुभकामना दिएका छन्। आइतबार अपरान्ह टेलिफोन गरेर मोदीले ओलीलाई शुभकामना दिएका हुन्।

 

ओलीले प्रधानमन्त्रीको पदभार ग्रहण गरेपछि भारतमा स्वागत गर्न आफू प्रतीक्षरत रहेको पनि बताएको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

टेलिफोन कुराकानीका क्रममा अध्यक्ष ओलीले भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएको उनले बताए। ओलीले मोदीलाई मुक्तिनाथ एवं रामजानकी मन्दिर दर्शन गर्न आग्रह गरेका थिए। वाम गठबन्धनले निर्वाचनमा बहुमत हासिल गरेपछि मोदीले ओलीसँग टेलिफोन कुराकानी गरेको दोस्रो पटक हो। यसअघि पुस ६ गते मोदीले ओलीलाई टेलिफोन गर्दै बहुमत ल्याएकोमा बधाई दिएका थिए।

निर्वाचनपछि भारतीय संस्थापनको यो तेस्रो रेस्पोन्स हो। यसअघि निर्वाचन लगत्तै भारतीय परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै नेपालको नयाँ सरकारसँग काम गर्न आतुर रहेको उल्लेख गरेको थियो।

२०७२ असोजमा नेपालको जनप्रतिधिमूलक संस्था संविधान सभाबाट संविधान जारी भएकोमा आक्रोशित हुँदै भारतले अमानवीय नाकाबन्दी लादेको थियो। औषधि, पेट्रोलियम पदार्थ, ग्यास एवं दैनिक उपभोग्य सामान ढुवानी ठप्प पारी भारतले भूपरिवेष्टित राष्ट्रको अन्तर्राष्ट्रिय अधिकार धज्जी उडाएको विषय एमालेले जनता समक्ष लगेको थियो।

भारतीय बल मिचाइँको विरोध गर्ने एमालेसहितको बाम गठबन्धनलाई नेपाली जनताले बहुमत दिएपछि अब के हुन्छ भन्ने संसय देखिइरहँदा भारतीय संस्थापन ओलीसहितका नेतासँग नजिक हुन खोजिरहेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्