गम्भीर प्रकृतिका आपराधिक घटनामा वृद्धि



काठमाडौँ। मुलुकमा पछिल्लो आठ महिनामा आत्महत्या, जबरजस्ती करणीलगायत गम्भीर प्रकृतिका घटना केही बढेको पाइएको छ। चालू आर्थिक वर्षमा नेपाल प्रहरीमा दर्ता भएको घटना विवरण हेर्दा समग्र आपराधिक क्रियाकलापमा केही कमी देखिए पनि गम्भीर प्रकृतिका घटनामा बढोत्तरी भएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

उनका अनुसार तथ्याङ्क विश्लेषण गर्दा कर्तव्य ज्यान, जबरजस्ती करणी, जबरजस्ती करणी उद्योग, ज्यान मार्ने उद्योग, आत्महत्या लगायत गम्भीर प्रकृतिका घटना सङ्ख्या बढेको छ। कुँवरले समग्रमा दर्ता भएका घटना हेर्दा गत आर्थिक वर्षको आठ महिनाको विवरणभन्दा यस पटक १६ दशमलव १६ प्रतिशतले कमी आएको जानकारी दिए। सो अवधिमा चोरी, बैङ्किङ कसुर, ठगी जस्ता आर्थिक अपराधका घटना कम छ।

चालू आवको फागुनसम्म मुलुकभरका प्रहरी कार्यालयमा विभिन्न प्रकृतिका आपराधिक घटना २६ हजार ३०६ घटना दर्ता भएको छ। तथ्याङ्क हेर्दा प्रतिदिन झन्डै ११० वटा घटना भएको देखिन्छ। यो गत वर्षको तुलनामा १६ दशमलव १६ प्रतिशतले कमी हो। आठ महिनामा गत वर्षभन्दा २१ दशमलव १३ प्रतिशतले वृद्धि भई कर्तव्य ज्यानसम्बन्धी मुद्दाका ४४७ घटना दर्ता भएको प्रहरीले जनाएको छ।

सो अवधिमा चार हजार ४८३ आत्महत्याका घटना भएका छन्। आव २०७६-७७ को सोही अवधिमा आत्महत्याको तीन हजार ५३४ घटना दर्ता भएका थिए। तुलनात्मक रूपमा चालू आर्थिक वर्षमा आत्महत्यासम्बन्धी घटना २६ दशमलव ८५ प्रतिशतले वृद्धि भएको र दैनिक औसत १७ जनाले आत्महत्या गरेको पाइएको कुँवरले जानकारी दिए।

गत आर्थिक वर्षभन्दा १५ दशमलव ६७ प्रतिशतले वृद्धि भई जबरजस्ती करणीका एक हजार ६५३ घटना दर्ता भएको प्रहरीले जनाएको छ। तथ्याङ्क विश्लेषण गर्दा प्रतिदिन औसत सात वटा जबरजस्ती करणीका घटना भएको पाइएको छ। प्रहरीले माघ, फागुनमा त्यस्ता घटना बढेको जानकारी दिएको छ। जबरजस्ती करणीका घटना प्रायजसो नजिककै चिनजानका व्यक्ति संलग्न हुने गरेको पाइएको कुँवरले बताए।

कूल एक हजार ६५३ मुद्दाका एक हजार ८५५ जना प्रतिवादीमध्ये ११ दशमलव २१ प्रतिशत प्रतिवादी हाडनाता सम्बन्धका रहेका छन्। समग्रमा ८१ दशमलव ५६ प्रतिशत प्रतिवादी नजिकका सम्बन्ध र चिनजानका व्यक्ति छन्। आव २०७६-७७ को फागुन मसान्तसम्म जबरजस्ती करणी उद्योगमा ४६८ घटना दर्ता भएको र चालू आर्थिक वर्षको सोही अवधिमा ५०९ घटना दर्ता भएको जनाइएको छ।

पछिल्लो आठ महिनामा चोरीका कूल एक हजार ५६९ वटा घटना दर्ता भएको छ। गत वर्षको सोही अवधिको तुलनामा २१ दशमलव ८२ प्रतिशत कम रहेको छ। यस्तै बैङ्किङ कसुरसम्बन्धी अपराधमा यसपालि कम देखिएको छ। गत वर्षको फागुनसम्म बैङ्किङ कसुरका दुई हजार ८२८ मुद्दा दर्ता भएकामा यो वर्षको सोही अवधिमा एक हजार ६८८ मुद्दा आएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्