Banner Second

बिस्केट जात्रा : रथ तान्ने क्रममा १९ घाइते

By Thaha - Online

April 11, 2021

भक्तपुरमा जारी बिस्काः (बिस्केट) जात्रामा भैरवको रथ तान्ने क्रममा १९ जना घाइते भएका छन्। राति रथबाट झर्दा र रथ तान्ने क्रममा ढुङ्गा हानाहान हुँदा स्थानीय घाइते भएको प्रहरीले जनाएको छ।

आठ रात नौ दिनसम्म भक्तपुरमा मनाइने ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको बिस्काः जात्राको पहिलो दिन भैरवको रथ तान्ने क्रममा घाइते भएकाको विभिन्न अस्पतालमा उपचार भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ।

हिजो दिउँसो ४ बजेदेखि रथ तान्न सुरु भएको र राति करिब ७ बजे रथ नासमना पुगेपछि रथबाट खसेर रथको चक्कामा पर्दा भनपा–१० का ७९ वर्षीय कृष्णगोपाल मुलगुठी र २६ वर्षीय दिपेश साँगाछें घाइते भएका छन्। घाइतेलाई तत्कालै उपचारका लागि अस्पताल भक्तपुर लगिएकामा कृष्णगोपाल मुलकोटीलाई थप उपचारका लागि थिमीस्थित मध्यपुर अस्पताल सिफारिस गरिएको छ।

मध्यराति करिब साढे १ बजे रथ नासमना पुगेपछि केहीबेर ढुङ्गा हानाहान भएको थियो। स्थानीयवासले बीचमै छाडेको रथ आज बिहान पुनः तानेर बिहान ८ बजे गःहिटी पुर्‍याइएको छ।

यस वर्ष जात्रा औपचारिकतामा मात्रै सीमित गर्ने जिल्ला प्रशासनको निर्णयविरुद्ध स्थानीयवासी उत्रिएपछि भक्तपुर नगरपालिकाले तालिका नै बनाएर दिउँसै जात्रा सम्पन्न गर्ने निर्णय गरेको थियो। नगरपालिकाको तालिका र आह्वानलाई स्थानीयवासीले बेवास्ता गर्दै मध्यरातिसम्म रथ तान्दा ढुङ्गा हानाहान भएको थियो।