चुच्चे नक्सा नराखिएको भन्दै सरकारलाई तक्मा फिर्ता गर्ने



काठमाडौंं । सरकारले विभिन्न क्षेत्रमा योगदान पुर्याउने व्यक्तित्वहरुलाई सम्मान प्रदान गरेको छ।

राज्यलाई महत्वपूर्ण योगदान दिएको आधारमा सरकारले हरेक वर्ष सयौं व्यक्तिलाई विभिन्न विभूषण (तक्मा)ले सम्मान गर्ने प्रचलन अनुसार नै यस वर्ष पनि विभूषित गरिएको हो।

केहि अघिनै सम्मान दिने व्यक्तिहरुको नाम घोषणा भएपनि महामारीका कारण एक वर्ष ढिला हिजो राष्ट्रपति भवनमा तक्मा हस्तान्तरण भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले तक्मा लगाइदिएकी थिइन्।

तक्मामा नेपाली भूभाग लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटिएको नक्सा नराखिएको भन्दै अहिले चर्को विरोध भइरहेको छ। यसैबीच, एक महिला पत्रकारले तक्मा फिर्ता गर्ने बताएकी छन्।

सरकारले वितरण गरेको तक्मामा नेपालको चुच्चे नक्सा नभएको भन्दै पत्रकार लक्ष्मी पुनले तक्मा फिर्ता गर्ने भएकी हुन।

नेपाल राष्ट्रको गौरव र नेपाली जनताको हितको लागि योगदान गरेको भन्दै सरकारले उनलाई प्रवल जनसेवाश्री चतुर्थ श्रेणीद्वारा विभूषित गरेको थियो।

जनयुद्धकालमा बच्चा च्यापेर गणतन्त्र रेडियोमा काम गरेकी लक्ष्मीको पत्रकारिता क्षेत्रमा आफ्नै इतिहास छ।

तक्मा फिर्ता गर्ने विषयमा सामाजिक संजालमा उनले लेखेकी छन्, ‘जनयुद्ध कालमा बच्चा च्यापेर गणतन्त्र रेडियोमा गरेको जनपत्रकारिताको सम्मान स्वरुप राज्यले मलाई सुशोभित गरेको भन्दै म निकै हर्षित थिए। महामारीका कारण एक वर्ष ढिला हस्तान्तरण भएको तक्मा पाए। राष्ट्रपति निवासमा तक्मा गलामा झुण्डाएर जलपान र फोटोसेसन मा व्यस्त भइयो। कोठा पुगेर बल्ल त्यता नजर गयो। मन कटक्क खायो। जुन गणतन्त्रका लागि लडेका थियौं, त्यसको सम्मान भएन जस्तो लाग्यो। माया गर्नेहरूको बधाई शुभकामना ओइरी रहेको थियो। सबै प्रति नतमस्तक तथा आभारी छु। तर, जानकारी गराउन चाहे, सच्चिएर चुच्चो सहितको तक्मा आयो भने मात्रै ग्रहण गर्ने छु। भोलि गृहमा बुझाउने निधो गरे।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्