विराटनगरमा छोराले गरे बाबुको हत्या



विराटनगर / छोरासँगको झगडामा विराटनगरका एक पुरुषको शनिबार राति मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ बलुवाईका ५४ वर्षीय विको सहनी मुखियाको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिए । माइलो छोरा २५ वर्षीय रवि सहनी मुखियासँग झगडा हुँदा घाइते भएका विकोको उपचारका लागि पुर्याउनसाथ मृत्यु भएको उनले बताए ।

झगडाका क्रममा घाँटीमा बाँसको भाटा उनिएर विको घाइते भएका थिए । बाबुको हत्यामा संलग्न रवि फरार रहेका कारण खोजी तीव्र पारिएको राईले बताए । विकोका तीन छोरा र एक श्रीमती छन् । तर उनी परिवारका सदस्यसँग बस्दैन थिए । स्थानीय बासिन्दाका अनुसार परिवारका सदस्यबाट अलग्गै बस्दै आएका विको बाँसको भाटाको बेरा लगाएर बनाइएको घरमा पसल राखेर घरेलु मदिरा बिक्री गर्थे । राति अवेरसम्म मदिरा पसल खुल्लै राखेको देखेर पसल बन्द गर्न आग्रह गरेका माइलो छोरा रविको त्यही विषयलाई लिएर बाबुसँग विवाद भएको पाइएको स्थानीयको भनाइ छ ।

विवाद बढ्दै गएपछि उनले बुवालाई कुटपिट गर्दै धकेलिदिएको प्रहरीले जनाएको छ । धकेल्दा घरको बेरा लगाएको बाँसको भाटामा विको उनिन पुगेका थिए । उनको घाँटीमा उनिएको भाटाले छेडेको चोट छ । घाँटीमा लागेको गम्भीर चोटका कारण उनको मृत्यु भएको प्रहरीको भनाइ छ । घाइते अवस्थामा उपचारका लागि कोसी अस्पताल पु¥याइएका विकोलाई राति ११ बजेतिर चिकित्सकले मृत घोषित गरेको जानकारी डीएसपी राईले दिए । घटनास्थल वरपर रगत लतपतिएको छ ।

घरमा विकोको जेठो छोरा लेटु सहनी मुखिया ज्वरो आएर बिरामी परेका थिए । उनलाई उपचारका लागि अस्पताल लैजान एम्बुलेन्स बोलाइएको थियो । जेठो छोरालाई लिन आएको एम्बुलेन्समै राखेर माइलो छोरासँगको झगडामा घाइते भएका विकोलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
विकोका तीन छोरामध्ये जेठो र माइलो माछा मारेर परिवार चलाउँथे । कान्छो छोरा बब्लु बिस्कुट उद्योगमा काम गर्छन् । छोरा र पत्नी सुम्नी सहनी मुखियाबाट विको अलग्गै भिन्दै घरमा बस्ने गरेको खुलेको छ ।

अलगअलग बस्ने भए पनि परिवारका सबै जनाको घरको साँध र सिमाना भने जोडिएको छ । घटना भएका बेला विकोका जेठो र कान्छो छोरा पनि घरमै थिए । घटनापछि फरार बनेका रविको खोजी तीव्र पारेको प्रहरीले कान्छो र जेठो छोरालाई भने नियन्त्रणमा लिएर घटनाको अनुसन्धान अघि बढाएको छ ।
विकोकी पत्नी सुम्नीले विगतमा बाबु र छोराबीच कुनै पनि विवाद नरहेको सुनाइन् । पसल खुला राखेको विषयमा बाबु र छोराबीच भएको झगडामा बाबुले ज्यान गएको उनले बताइन् । डीएसपी राईले मदिरा सेवनका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जानकारी दिए । उनका अनुसार घटना भएका बेला बाबु र छोरा दुवै जनाले मदिरा सेवन गरेको पनि खुलेको छ । purbeli news bat

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्